पर्वत, ५ असोज । उद्योगमन्त्री महेश बस्नेतले सबै दलले उद्योगमैत्री वातावरणको सिर्जना गरेमात्र नेपालमा औद्योगीकरणको विकास गर्न सकिने बताउनु भएको छ ।
पर्वतको सदरमुकाम कुश्मा बजारमा आइतबार बिहान आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले राजनीतिक दलहरु उद्योगप्रति सकारात्मक भइदिएमा मात्र औद्योगिक क्षेत्रले ठूलो फड्को मार्न सक्ने बताउनुभयो ।
‘अहिलेको नेपालको औद्योगिक नीति विदेशी दातृ संस्थाहरुलाई हेरेर प्रयोग भइरहेको छ’उहाँले भन्नुभयो, ‘त्यसरी बनेको नीति र सञ्चालित उद्योग दिगो रुपमा चल्न सक्दैनन् ।’ मन्त्री बस्नेतले ग्रामीण क्षेत्रमा रहेका लघु, घरेलु तथा साना उद्योगको विकासका लागि पनि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले कम्पनी रजिष्ट्रारको कार्यालय तत्काल पाँचवटै विकास क्षेत्रमा विस्तार गरिहाल्ने पनि बताउनुभयो । उद्योग व्यवसाय र कम्पनी दर्तामा भइरहेको दलाली र माफीयातन्त्रको समाधानका लागि तत्काल कम्पनी रजिष्ट्रारको कार्यालय विस्तार योजना अघि बढाएको उहाँको भनाई थियो ।
अहिले पुरानै बजेट र नीतिअनुसार काम गर्नुपर्ने भएकाले सोहीअनुुसार गर्न सकिने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने मन्त्री बस्नेतको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘युवा केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसका लागि मातहतका सबै निकायसँग छलफललाई अघि बढाएको छु ।’
सो अवसरमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतका प्रमुख शिवशङ्कर बानियाँले पर्वतमा उद्योग व्यवसायको अवस्थाका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । रासस
















प्रतिक्रिया