मोरङ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले अवरुद्ध व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एमाओवादी सकारात्मक भएको बताउनु भएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै एमाओवादी सकारात्मक रहेकाले अवरुद्ध संसद् चाँडै सुचारु हुने बताए ।
मन्त्री रिजालले भन्नुभयो, ‘अवरुद्ध संसद् सुचारु गर्न अमेरिका जानुअघि नै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेकाले अवरुद्ध संसद् चाँडै खुल्छ ।’
सरकार गठनअघि भएको चारबुँदे सहमति कायम गर्न सरकार प्रतिबद्ध रहेकाले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषयलाई प्रतिष्ठाको विषय बनाउन नहुने मन्त्री रिजालको भनाइ छ ।
उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।
उहाँले कुनै दललाई पाखा लगाएर संविधान बन्न नसक्ने भन्दै एमाओवादी, मधेसवादी तथा नेकपा–माओवादीलगायत संविधानसभा भित्र र बाहिर रहेका दलहरुको सहमतिमै संविधान जारी हुने मन्त्री रिजालले दाबी गर्नुभयो । रासस
















प्रतिक्रिया