१ कार्तिक २०८३, आइतबार

कांग्रेसले विपीको समाजवाद भारतीयहरुको साउथ ब्लकमा बुझायोः अध्यक्ष पहारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ७ फागुन । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले सत्तारुढ नेपाली कांग्रेस भारतको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

युवा संघ नेपाल धरान उपमहानगरको ११ औं अधिवेशन उद्घाटन सत्रलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै पहारीले संस्थापक नेता विपी कोइरालाले प्रतिपादन गरेको समाजवादलाई कांग्रेसले भारतीयहरुको साउथ ब्लकमा बुझाएको टिप्पणी गरे ।

नेपालमा तीन खालका अतिवादीहरु रहेको भन्दै अध्यक्ष पहारीले भने– ‘नेपाली कांग्रेसको खोक्रो आदर्श पहिलो अतिवाद हो । नेपालका सार्वजनिक संस्थानलाई निजीकरणको नाममा स्वहा कांग्रेसले नै पारेको हो । यथास्थिती वादको पराकाष्ठा नेपाली कांग्रेस हो ।’

केपी ओली नेतृत्वको सरकारले अगाडी सारेका सम्बृद्धिको अभियानलाई भारतीय रेल चढ्न बानी परेकाहरुले बिरोध गरेको उनको भनाई छ ।

‘माओवादी राजनीतिक चरित्र नभएकाहरुको झुन्ड’

अध्यक्ष पहारीले माओवादी राजनीतिक चरित्र नभएको झुण्ड भएको टिप्पणी गर्दै भने– ‘माओवादीहरु बन मान्छेहरुको र एमाले असल मान्छेहरुको समूह हो ।’

एमाले र माओवादीबीच जीवन र सिद्धान्तलाई हेर्ने दृष्टिकोण फरक रहेकाले एक अर्कामा तुलना हुनैसक्ने उनको धारणा छ ।

हरेक युवा उत्पादनमा लाग्नुपर्नेमा जोड

आजका युवाहरु आगामी शताब्दीलाई हाक्न सक्षम रहेको भन्दै अध्यक्ष पहारीले युवा संघ नेपालका हरेक युवाहरु अनिवार्य उत्पादनमा जोडिनुपर्ने बताए ।

‘देशको असली मधेसवादी दल एमाले हो’

अध्यक्ष पहारीले यो देशको असली मधेसवादी दल एमाले हो भन्दै जुन दल मधेस मै बिस्थापित छन् उनीहरुबाट मधेसी जनताको मुक्ती सम्भव नरहेको बताए ।

तराईका ११ जिल्लालाई छुट्टै राज्य बनाउने राजनीति केही मधेसका लेन्डुपहरुको दिवा सपना स्वाभिमानी नेपालीले पूरा हुन नदिने उनले चेतावनी दिए । मधेस आन्दोलनको नाममा मधेशका स्वघोषित मसिहाहरु सामाजिक सद्भाव खल्बल्याउन लागि परेको उनको आरोप छ ।

असली राष्ट्रवादी शक्ति एमाले रहेको र अतिवादी शक्तिहरुको आक्रमणबाट आफ्ना कार्यकर्ताहरुको हत्या एवं आक्रमणलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिए ।
नेकपा एमाले मुलुकको प्रमुख शक्ति बन्दै गर्दा देशी विदेशीहरु यसलाई कमजोर बनाउन लागिपरेको उनको आरोप छ ।

जस्तालाई तस्तै जवाफ दिने चेतावनी

त्यस्तै धरानका युवा नेता दिवस राईलाई आक्रमण गर्नेलाई कसैले संरक्षण गरेमा युवा संघ चुप लागेर नबस्ने चेतावनी दिँदै परि आए जस्तालाई तस्तै जवाफ दिने उनले जानकारी गराए । आफ्ना कार्यकर्ताको संरक्षणमा युवा संघ सजग रहेको उनको भनाई छ ।

त्यस्तै गुटबन्दीले गर्दा पार्टी जीवनलाई कमजोर बनाउनेमा आम युवाहरु सजग रहनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा युवा संघका केन्द्रीय सचिव नरेश शाहीले सीके राउत प्रवृति हाबी हुनु आम युवाका लागि दुर्भाग्य भएको बताए । कार्यक्रममा युवा संघ नेपालका स्थायी समिती सदस्य प्रभात बिक्रम कटवालले युवाहरु सामाजिक रुपान्तरणको संवाहक शक्ति बन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा युवा संघ महिला विभाग प्रमुख तथा सचिवालय सदस्य अन्जना अधिकारी, हिमाल लिम्बू, केन्द्रिय सदस्य सीता सुवेदी, ज्ञान दिप लिम्बू, देबानन्द मेहता, एमाले सुनसरीका उपाध्यक्ष एवं धरान नगर प्रमुख तारा सुब्बा, एमाले केन्द्रीय युवा बिभाग सदस्य मिना श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्न धरान आइपुगेका अध्यक्ष लगायत अतिथिलाई सयौं धरानका युवाहरुले मोटर साइकल र्यालीसहित भव्य स्वागत गरेका थिए ।