२९ आश्विन २०८३, बिहिबार

सरकारी खर्चमा जहाज चढ्दिन, विदेश पनि जान्नः उद्योगमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-basnet

काठमाडौं, २ असोज ।  उद्योगमन्त्री महेश बस्नेतले सरकारी खर्चमा आफूले हवाइजहाज नचढ्ने घोषणा गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा उनले मुलुकलाई हित हुनेबाहेक अरु कुरामा विदेश पनि नजाने बताउँदै थपे, “हिजो गाविस अध्यक्ष हुँदा मोटरसाइकल चढ्थेँ, एक लिटर तेल पनि लिइन, अहिले मन्त्री हुँदा सरकारी खर्चबाट प्लेन चढ्दिन, आर्थिक प्रलोभन हुने कुनै काम गर्दिन।”

उद्योगमन्त्रीले भने,’उद्योगको विकास र सुरक्षित लगानीको वातावरण सिर्जना गर्न मन्त्रालय र निजी क्षेत्रबीच समझदारी कायम गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले औद्योगिक क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्न ट्रेड युनियनका पदाधिकारीसँग वार्ता गरी समझदारी कायम गर्ने र बन्द र रुग्ण उद्योगको सञ्चालन तथा औद्योगिक क्षेत्रभित्र भौतिक पूर्वाधार विकास गर्नेतर्फ जोड दिइने बताए।

मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उद्योगलाई कसरी सुविधा दिने भन्नेमा मन्त्रालय लागिपरेको जानकारी दिँदै नजिँकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी उपभोग्य वस्तुको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह गरे।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीसहितको टोलीले उद्योग क्षेत्रमा सुरक्षित लगानीको वातावरण सिर्जना गर्न तथा रुग्ण उद्योग फस्टाउने र विदेशी लगानी भित्रने वातावरण बनाइदिन मन्त्रीसमक्ष आग्रह गरेको थियो। अध्यक्ष श्रेष्ठले सार्वजनिक निजी साझेदारीलाई अझ प्रभावकारी बनाउन जोड दिए। रासस