
काठमाडौं, २७ माघ । काठमाडौंस्थित चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरी केबलकारले फागुन महिनामा ५० प्रतिशत छुट दिने भएको छ । चन्द्रागिरी केबलकारल सोमबार, मंगलबार, बुधबार र बिहीबार छुट दिने जनाएको छ ।
पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ । केबलकारको टिकट रु. ७ सयबाट छुट दिएर रु. ३ सय ५० लाग्ने छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा भने लिन पाउने छैनन् ।
यो सुविधाको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एक जना यात्रुले एउटा मात्र टिकट लिन पाउने छन् भने सो टिकट सोही दिनका लागि मात्रै मान्य हुने छ ।
दर्शनार्थीका लागि सुविधा
चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निःशूल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।
महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्कीहुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ । यीं बसहरु सोही स्थान हुँदै फर्कने छन् ।
चन्द्रागिरी केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ । चन्द्रागिरिमा अहिले घोडसवारीको पनि व्यवस्था गरिएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना भएको हो ।
समुद्री सतहबाट करिव १ हजार ५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २ हजार ५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअलबाल उद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरी पर्वतबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।
साथै सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ । संभवत नेपालको पहिलो अपांङ्गमैत्री भौतिक संरचना यहाँको अर्को विशेषता हो ।
केबलकार गत साउनबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएदेखि अहिलेसम्म करिब साढे ३ लाख मानिसले यात्रा गरिसकेको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।















प्रतिक्रिया