काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको विवादले आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।
नियमित रुपमा विहिबार बस्ने क्याविनेट बैठक दिउँसो साढे १२ बजेका लागि आह्वान गरिएको थियो । तर, नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवावीच चर्किएको विवादले बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद बैठक स्थगित भएको पुष्टि गरेको छ ।
देउवाको चेतावनीपछि बैठक स्थगित
नेपाल प्रहरीमा यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा नयाँ आईजीपी कसलाई बनाउने बन्ने अन्यौलताका माझ कांग्रेस सभापति देउवाले डीआइजी जयबहादुर चन्द हुनुपर्ने अडान राखेका छन् । यता प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि भने नवराज सिलवालको पक्षमा छन् ।
यसैबारेमा निर्णय लिने आजको मन्त्रिपरिषद्को तयारी थियो । प्रधानमन्त्री र गृहमन्त्री सिलवाललाई आईजीपी घोषणा गर्ने मनस्थितीमा थिए ।
तर, देउवाले त्यसअगावै चन्दलाई आईजीपी बनाउन प्रधानमन्त्रीलाई दबाब दिँदै नबनाउने हो भने गृहमन्त्री निधिलाई राजीनामा दिन चेतावनी दिए । साथै सिलवाललाई आईजीपी बनाउने प्रस्ताव आए बैठक बहिष्कार गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन समेत दिए । देउवाले जसरी पनि चन्दलाई आईजीपी बनाउनै पर्छ भनेर अड्डी कसेपछि अन्ततः प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक स्थगित गरे ।
मुख्यसचिव सोमलाल सुवेदीमार्फत प्रधानमन्त्रीले बैठक स्थगित भएको सूचना मन्त्रीहरुसम्म पुगाए ।















प्रतिक्रिया