काठमाडौं । पश्चिमा गीतहरूको दब्दबा रहेका बेला भरखरै लोकदोहोरी गीतहरूले बजार पाउँदै गर्दा टेलिभिजन कार्यक्रम उद्घोषण गर्ने सञ्चारकर्मी एवम् गायिका बालिका लम्साल लामो समयपछि सांगीतिक क्षेत्रमा देखिने जमर्को गर्दैछिन् । अहिले विवाह गरेर घरजम गरी बसेकी बालिकालाई गीतसंगीतप्रतिको मोह हराएको छैन ।
झण्डै १३ वर्ष अगाडि बालिकाले नेपाल टेलिभिजन– २ मा प्रशारण हुने लोकदोहोरी कार्यक्रम चलाउने गर्थिन् । त्यति बेला राम्रो बजार पाएको लोकदोहोरी गीतसंगीतले अहिले पनि उत्तिकै माया पाएकोमा उनले खुसी व्यक्त गरिन् । भनिन्, ‘१३–१४ वर्ष अगाडि लोकदोहोरी गीतको धेरै चर्चा थियो । अहिले पनि लोकदोहोरी गीतले उत्तिकै स्थान पाएको छ । खुसी लाग्छ ।’
गायक तथा कलाकार श्रीप्रसाद थापाको ‘लाहुरेको रोदीघर’बाट बालिका चर्चामा आएकी हुन् ।
गायन क्षेत्रमा त्यति बेला आएका कलाकारहरूको क्षमता अत्यन्तै राम्रो रहेको उनको बुझाइ छ । ‘अहिलेका गायक गायिकाहरू राम्रा छन्’, उनले भनिन्, ‘नयाँपुस्ताले झन् राम्रो गर्नुपर्छ ।’
गीतसंगीतको क्षेत्रमा फेरि लाग्ने योजना बनाएकी बालिकाले भनिन्, ‘गीत गाउने तयारी गरिरहेकी छु । गीत छिटै आउँछ ।’ केही समय उनले एफएम रेडियोमा सांगीतिक कार्यक्रमहरू पनि चलाइन् ।
नेपाली कांग्रेसको राजनीति गर्दै आएकी बालिका दाङ जिल्ला कार्यसमितिको सदस्यका साथै सांकृतिक संघकी उपाध्यक्ष पनि हुन् । उनलाई राजनीतिमा लाग्न घरपरिवारले पनि साथ दिएको छ । ‘सांगीतिक क्षेत्रका साथै राजनीतिमा पनि सक्रिय छु’, उनले भनिन्, ‘घरपरिवारले साथ दिएको छ । सोही कारण राजनीति र सांगीतिक क्षेत्रमा लाग्न सहयोग मिलेको छ । होइन भने समस्या हुन्छ नि ।’















प्रतिक्रिया