१३ कार्तिक २०८३, शुक्रबार

फोन आएपछि देउवा दगुरे

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान नेपाली राजनीतिमा कहिले पनि पुरानो हुने अवस्था छैन ।

एमालेको नेतृत्वमा रहेको सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यसबेला सरकारको समर्थन फिर्ता गर्न भनेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

त्यसपछि प्रचण्डलाई कुर्सीको मोहले छोपेपछि चलिरहेको सरकार गिराएर कांग्रेससँग गठबन्धन बनाए । अहिले, ठ्याक्कै त्यहि चटके राजनीति एमालेले सुरू गरेको छ ।

सरकार बनाउने र भत्काउने गणितीय खेलको ठूलो योग बोकेको कांग्रेसका लागि अवसरको ढोका एमालेले खोलेको तथ्य खुलेको छ । मधेस र भारतले मन नपराएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको आयु सकिनै लाग्दा माओवादीलाई सत्ताबाट फ्याँक्नका लागि कांग्रेस सभापति देउवाका लागि टेलिफोनमा नै नयाँ अफर दिएका छन् । ‘राजनीति यसरी हुँदैन, यस्तै रह्यो भने कांग्रेसको छवि पनि विग्रने भयो, निर्वाचन हुन सकेको छैन, प्रधानमन्त्रीले गराउँदैनन् अनि के भन्ने ?’, टेलिफोनमा एमाले अध्यक्ष ओलीले देउवालाई भने,‘सरकार ढाल्नुस्, बलियो नेतृत्व गरेर अघि बढ्नुस्, चुनाव गराउनुस् ।’

एमालेको समर्थनमा सरकार बनाउँदा कांग्रेसका लागि खास फाइदा देखाएका ओलीले देउवालाई बलियो गठबन्धनको अफर दिएका हुन् । माओवादीबाहेकको सरकार बने त्यसमा राप्रपा, मधेसी मोर्चा नभए विजय गच्छादार पनि आउने ओलीको अफर थियो । ‘प्रचण्डले गर्न नसकेका काम तपाइले गर्नुहुनेछ, संविधान संशोधनका लागि २ तिहाई पुग्छ, निर्वाचनको बलियो चाबी हातमा हुन्छ सरकार ढाल्ने कोसिस गर्नुहोस् ।’

यस्तो अवसर पाएका देउवाले फोन राख्नासाथ सत्तामा समर्थन गरेका प्रचण्डलाई दगुरेर भेट्न पुगेका थिए । उनले आफुलाई ठूलै अफर आएपछि कांग्रेसले भनेजस्तो नगरे सरकारबाट हटाउनसक्ने सम्मको चेतावनी प्रचण्डलाई दिएका थिए । ‘तपाई आएपछि कोही पनि खुसी छैनन्, एमाले पुरै विरोधमा छ। संविधान संशोधन हुन सकेको छैन, निर्वाचन गराउने कुरा हल्लामात्र भयो । फेरि जे पायो त्यहि बोल्दै हिँड्नुभएको छ, यो तरिकाले भएन’, देउवाले प्रचण्डलाई भने,‘मोर्चामा गएर चुनाव गर्दिन भन्ने, हामीलाई चुनाव नगरी छाड्दीन भन्ने । मोर्चासँगको सहमति नगर्ने यो तरिकाले मुलुक अघि बढ्दैन ।’

त्यसो त माओवादीलाई राजनीतिक रूपमा नै कमजोर बनाउने खेलमा देउवा उहिलेदेखि नै लागेका थिए । माओवादीसँग नौ–नौ महिनामा सरकार फेर्ने समझदारी बनाउनासाथ कांग्रेसभित्र नै उनलाई कठिन भएको थियो । ओलीको यस्तो अफर पाएपछि अहिले पार्टीभित्र र बाहिर दुवैतिर आफुलाई बलियो बनाउने अवसर मात्र नभएर बलियो प्रधानमन्त्री समेत बन्नसक्ने आँकलन गरेका देउवाले प्रचण्डलाई बारम्बार सरकारका कामबारे सम्झाउने गरेका छन्। त्यसो त प्रचण्डसँगको गठबन्धनसँग देउवापत्नी आरजु राणा पनि त्यति खुसी थिइनन् ।