काठमाडौं । कमलविरही थापा । गायक तथा संगीतकार । सुरुमा देउडा गायकको रुपमा उदायका थापाको पहिचान बदलिएको छ । सुदूरपश्चिमको कैलालीबाट देउडा गीतमार्फत गायन यात्रा थालनी गरेका उनी त्यतिमै सीमित रहेनन्, लोकदोहारी र आधुनिक गायकको पहिचान पनि बनाए । उनको गायन यात्राका बारेमा दैनिक नेपालले खोतल्ने प्रयास गरेको छः
देउडा गायनको सुरुवाती अवस्था
२०४८ सालमा ८ वर्षको उमेरमा मैले पहिलो पटक विद्यालयमा आयोजित एक कार्यक्रममा गीत गाएर आफ्नो गायन यात्रालाई सुरुवात गरेको थिँएँ । त्यसपछि मैले विस्तारै बाह्य स्टेज कार्यक्रमहरुमा पनि स्थान पाउन थालेँ ।
त्यसो त आफै एल्बम नै निकालेर देउडा गायनलाई व्यवसायिक रुप दिनुभन्दा पहिले १७ वर्षअघि ‘यहि हो धर्म मानिसको’ भन्ने बोलको गीतमा स्वर दिएको थिएँ । त्यो बेलानै पहिलो पटक गीतमा स्वर दिएको थिएँ ।
त्यसपछि मलाई अब गायक बन्छु भन्ने लाग्यो । त्यहि भएर गायनलाई अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ मैले पहिलो पटक आफ्नै स्वर, शब्द र संगीतमा ‘कठै सुदूर मेरो जन्मथलो रोयाको छ’ भन्ने बोलको गीत बजारमा ल्याएँ । जुन गीत ‘हजारी टोक्कर’ भन्ने एल्बममा समेटिएको छ ।
जसलाई स्रोता दर्शकले निकै मन पराएका थिए । सुदूरपश्चिममा म त्यहि गीतबाट चिनिएको हुँ । समयक्रमसँगै मैले विभिन्न ७ वटा देउडा गीत निकालेँ । देउडा गीतले नै मलाई यहाँसम्म पुर्याएको हो ।
लोकदोहोरी र आधुनिक गीत गायन र लेखन

मेरो देउडा गीतबाट गायन यात्रा सुरु भएपनि पछि विस्तारै क्षेत्र विस्तार गरेका छु । गायन क्षेत्रलाई विस्तार गर्ने क्रममै अहिले लोकदोहोरी र आधुनिक गीत गायन र लेखन दुबै गरिहेको छु ।
त्यसैक्रममा ‘ढाक्यो धर्ती बादलु छायाले’ बोलको लोकदोहोरी गीतमा लय र शब्द मेरो छ । त्यस्तै, ‘सिमल डाँडे दाई’ बोलको गीतमा पनि मैले लय दिएको छु ।
आधुनिक गीतको कुरा गर्दा मैले पहिलो पटक आफ्नै शब्द रहेको ‘बाटोमा ढुंगा’ बोलको गीतमा स्वर दिएको छु । त्यस्तै, बद्ध जयन्तीको अवरमा बजारमा आएको ‘बुद्ध जन्मे कहाँ’ भन्ने बोलको गीतमा मेरै शब्द र संगीत छ ।
जुन गीतले भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिएको छ । अन्य थुप्रै गीतहरुमा मैले स्वर दिएको छुँ । शब्द र संगीतमा दर्जन बढी गीतहरु बजारमा आएका छन् ।
म अहिले प्रायः गायन भन्दा पनि शब्द लेखनमा बढी समय दिइरहेको छु । गायकबाट आफूलाई संगीतकारको रुपमा पनि चिनाउने प्रयास गरिरहेको छु ।
संस्कृति जगेर्नामा देउडा गीत, तर सीमित क्षेत्र
मेरो गायन यात्राको सुभारम्भ भनेको नै देउडा गीतबाट भएको हो । देउडा गीतले समग्र सुदूरपश्चिमलाई चिनाउने काम गरेको छ । देउडा गीत भनेको सुदूरपश्चिमको संस्कृति हो । त्यसैको माध्यमबाट त्यहाँको संस्कृति जगेर्ना भइरहेको छ ।
तर, त्यसैलाई मात्र रुमलिएर कलाकारलाई व्यवसायिक रुपमा अगाडि बढ्न समस्या भइरहेको छ । अहिलेको अवस्थामा कलाकारले देउडा गीत सँगसँगै अन्य गीतहरुतर्फ पनि हात हाल्नुपर्ने अवस्था छ । त्यहि भएर पनि म साँगीतिक क्षेत्र विस्तार गर्दै लोकदोहोरी र आधुनिक गीतमा प्रवेश गरेको छु । अहिले देउडा, लोकदोहोरी र आधुनिक गीतमा समय दिइरहेको छु ।
















प्रतिक्रिया