
चितवन, २३ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्षसहित चितवनमा विभिन्न पार्टीका एक सय बढी व्यक्ति एमालेका प्रवेश गरेका छन् ।
नेकपा एमालेको राष्ट्रियताको नीति मन पराई चितवनमा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेका बेला आइतबार पार्टी कार्यालय भरतपुरमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एक सय बढी पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले टीका र माला लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्नेमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइली, नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदाम, व्यवसायी भरत कुंवर, होटल व्यवसायी संघ चितवका निवर्तमान अध्यक्ष डासीराम ढकाललगायतका रहेका छन् । पार्टी प्रवेश गर्नेमा अधिकाश माओवादी केन्द्रका नेता कार्यकर्ता रहेका छन् ।
देशभरी नै पछिल्लो समय एमाले प्रवेश गर्नेको जनलहर रहेको भन्दै प्रमुख अतिथि खनालले राष्ट्रियताका सवालमा पार्टीले लिएको अडान निकै सान्दर्भिक र ओझपुर्ण रहेको बताए ।
‘नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्छ’
कार्यक्रममा वरिष्ठ नेता खनालले तीन तहको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्ने बताए ।
प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रको हितमा नभएको बताउँदै उनले कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित हुन नदिने ठोकुवा गरे । संविधान कार्यान्वयनतर्फ सबै दल लाग्नुको विकल्प नभएको उनको धारणा थियो ।
आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चर्चा गर्दै उनले देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डतालाई कसैले कमजोर पार्न नहुने बताए ।
वरिष्ठ नेता खनालले निर्वाचन र संविधान कार्यान्वयन गर्नेतर्फ वर्तमान सरकार उदासिन देखिएको बताउँदै आयु लम्ब्याउनेतर्फ मात्रै सरकार उद्धत रहेको आरोप लगाए ।
हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने दावी गर्दै उनले यहाँका मौलिक भाषा मास्ने षड्यन्त्रस्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको आरोप लगाए ।



















प्रतिक्रिया