भक्तपुर, १ असोज । उद्योगमन्त्री महेश बस्नेतले माघ ८ गतेभित्र संविधान निर्माण गर्न अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
प्रेस चौतारी भक्तपुरले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री बस्नेतले माघ ८ गतेभित्रै संविधान बन्ने दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो – ‘अब संविधान निर्माणलाई कसैले रोक्न सक्दैन, संविधान निर्माणमा सहमति खोजिन्छ, सहमति नभए प्रक्रियागत रुपमा अगाडि बढ्छ, तर संविधान माघ ८ मै जारी हुन्छ ।’
संसद बहिष्कार गर्ने प्रवृत्ति सरकारले अब धेरै दिन नसहने पनि उहाँले बताउनुभयो ।
सरकारद्वारा सञ्चालित कुनै पनि उद्योगधन्दा अहिले नचलेको र चलेका उद्योग पनि तीन करोड रुपैयाँसम्म नोक्सानमा गएको बताउँदै उहाँले अब आधुनिक उपकरण भित्र्याएर उद्योगहरूलाई नाफामूलक बनाइने छ भन्नुभयो ।
आफ्नो मन्त्रालयलाई भ्रष्टाचार शून्य बनाइने बताउँदै उहाँले मन्त्रालयभित्र कसैले पनि भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही गरिने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले श्रीमजीवी पत्रकार ऐन तत्काल लागू गर्न सरकारसँग माग गर्नुभयो ।
















प्रतिक्रिया