काठमाडौं, २२ माघ । मधेसी मोर्चासँगको समझदारीपछि सरकारले तत्काल निर्वाचनको मिति घोषणा नहुने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने जानकारी दिएका हुन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले भने– ‘संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन्, हिजो मधेशी मोर्चाका नेताहरुलाईपनि प्रधानमन्त्रीले संशोधन टुँगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पार्नुभएको छ, र मोर्चाका नेताहरुलेपनि सकारात्मक सहयोग गर्नुपर्छ भनेर प्रमले भन्नुभएको छ, मोर्चा र प्रधानमन्त्रीवीच हिजो जुन सहमति भएको छ, अब त्यसलाई कार्यान्वयन गरेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ ।’
विहिबार निर्वाचन आयोगलाई चुनावको तयारी गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्ने कसम खाएका थिए । यसैक्रममा शनिबार (आज) प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले सरकारको धारणा स्पष्ट पारेका हुन् ।
संविधान संशोधन प्रक्रियालाई नै अहिले प्रधानमन्त्रीले तदारुकताका साथ अगाडि बढाइरहेको बताउँदै उनले अगाडि भने– ‘संविधान संशोधन गरेर सबैलाई मिलाएर चुनावमा जाँदा राम्रो हुन्छ, र देशले पनि निकास पाउँछ, चुनाव राष्ट्रिय सहमतिमै हुनुपर्छ, यसमा एमालेलेपनि वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ ।’
सल्लाहकार खनालले वर्तमान सरकारको गठन मधेश मुद्दा हल गर्ने र चुनाव गरेर संविधान कार्यान्वयन गर्नको लागि भएकोले सरकारले निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गराएर छाड्ने उद्धघोष गरे ।
संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिरहेको बताउँदै खनालले भने, ‘परिणाम जे आएपनि अब मधेशी मोर्चाले पनि निर्वाचन र संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।’












प्रतिक्रिया