काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालिएर अभिव्यक्ति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सचेत गराएका छन् ।
पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप लगाए ।
मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले पार्टीको भातृ संगठन वाइसीएललाई प्रतिकारमा उत्रिन निर्देशन दिएका थिए ।
प्रचण्डको निर्देशनको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा ओलीले भने- ‘प्रधानमन्त्री जस्तो व्यक्तिले वाइसीएलको कार्यक्रममा लुट्न पाइएन् भनेर दुखेसो गर्नुभयो! यस्तो कुरा भन्न मिल्छ ?’
‘यता उग्र राष्ट्रवादको कुरा गरेर देशलाई लुट्न खोजे भनेर भन्ने ? उता प्रतिकार गर भनेर भन्ने ? त्यस्तो भन्न मिल्छ ?’ ओलीले अगाडि प्रश्न गरे- ‘प्रधानमन्त्रीजस्तो पदमा बसेर के बोल्ने भन्ने हेक्का राख्नुपर्छ । सम्हालिएर बोल्नुपर्छ ।’
प्रधानमन्त्रीको कुरा सुन्दा त भीड नै बोलाएको हो कि भन्ने लाग्ने गरेको भन्दै ओलीले फेरि प्रश्न गरे- ‘के म भीडमा जाने ?’
‘चुनाव गर्नुपर्छ भनेर तमासा गरिराख्या छन्’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले चुनाव नचाहेको बताए । ‘एमालेले चुनाव घोषणा गर्न भनेको भन्यै छ, तर मान्या छैनन् सत्तारुढ दलले,’ उनले भने । चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर्छु भन्ने ढंगबाट अघि बढेको भन्दै ओलीले भने- ‘उनीहरुको मिलेमतो छ, तमासा गरिरहेका छन् ।’
आफ्नो सत्ता टिकाउन प्रचण्डले भारतले भनेअनुसार कोलकतामा नेपाल आउने कन्टेनरमा चार प्रतिशत सेवा शुल्क लगाएको ओलीको आरोप छ ।
प्रतिपक्षमा अलि बलियो मान्छे राख्नुपर्यो!
पत्रकार सम्मेलनमा ओलीले सरकार आफै प्रतिपक्षी बन्न खोजिरहेको आरोप लगाए । उनले प्रतिपक्षीमा अलि बलियो मान्छे ल्याएर राख्न सत्ता गठबन्धनलाई सुझाव समेत दिए ।
‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने हो । तर, उहाँ (कांग्रेस–माओवादी केन्द्र)हरुले दिनुभएन् । अब प्रमुख प्रतिपक्षी पनि किन चाहियो र ?’ ओलीले प्रश्न गर्दै भने– ‘यति धेरै ब्याकिङ भएको, ताकत भएकाले प्रतिपक्षको आफै निर्णय गरेर लग्यो भैगो नि!’
सोमबार भएको सार्वजनिक लेखा समितिको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी सांसद डोरप्रसाद उपाध्याय सभापति निर्वाचित भएका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने प्रावधान रहेपनि वर्तमान सत्ता गठबन्धनले त्यसको उल्लंघन गरेपछि ओलीले व्यंग्य प्रहार गरेका हुन् ।
‘एमालेविरुद्ध व्यापक भ्रम फैलाउने काम भइरहेको छ’
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुबाट एमालेविरुद्ध व्यापक भ्रम फैलाउने काम भइरहेको दाबी गरे । ‘यो गलत हो । हाम्रा विरुद्ध नलाग्दा हुन्छ । हामी राष्ट्रवादी हौं राष्ट्रका पक्षमा छौं,’ उनले भने ।
‘राष्ट्रियताको कुरो गर्दा महेन्द्रीय देशभक्त भन्ने ?
राष्ट्रियताको कुरा गर्दा महेन्द्रीय देशभक्त भन्नु गलत रहेको ओलीको भनाई थियो । ‘राष्ट्रियताको कुरो गर्दा महेन्द्रीय देशभक्त भन्ने ? के राजा मात्रै देशभक्त हुन् ? जनतामा देशभक्ती हुँदैन् ? महेन्द्रीय देशभक्त भनेर राजा महेन्द्र मात्र राष्ट्रवादी थिए, जनता राष्ट्रवादी थिएनन् भन्न खोजेको ?’ ओलीले प्रश्न गरे ।
















प्रतिक्रिया