काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नेपालको ठूलो राष्ट्रिय झण्डाका विषयमा धेरैलाई चासो हुन सक्छ । एमालेका अध्यक्ष केपी ओलीले फहराएको सो झण्डाका विषयमा अहिले चर्चा परिचर्चा हुन थालेका छन् ।
सहिद दिवसका दिन एमाले अध्यक्ष तथा पूर्वपप्रधानमन्त्री ओलीले १० मिटर अग्लो र साढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराए । ओलीलाई यो अवसर जुराइदिएको थियो– नेपाली देशभक्त युवा समाजले । ओलीसँगै राष्ट्रकवी माधव घिमिरे पनि पुगेका थिए ।
तर, ओलीले यो झण्डा फहराउँदा उनको जीवनीमा बन्दै गरेको नेपाली फिल्म ‘रातो सूर्य’का लागि आवश्यक पर्ने दृष्य कैद पनि भइरहेको थियो । यो कार्यमा एमालेका सचिव प्रदीप ज्ञवालीले पनि साथ दिएका थिए । यद्यपी दृश्यका लागि फिल्म युनिटले अनुमति लिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले ‘रातो सूर्य’ नामक फिल्मको टिमले दृष्यहरू कसैलाई थाहै नदिइ धमाधम लिइरहेको थियो । मिडियाले पनि त्यसबेला कुनै पत्तो समेत पाएनन् ।
ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायाँकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा कसैले थाहा नपाउने गरेर सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् ।
केही दिन अगाडि फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर बीर बलभद्र कुँवरको शालिक अनावरण गरेको दृष्य पनि लिएको थियो ।
‘रातो सूर्य’का लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरबीर पण्डित, टीका पहाडी, ध्रुब कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको मुख्य अभिनय रहनेछ ।
















प्रतिक्रिया