मलेसिया, १८ माघ । मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेको छ ।
साहआलमस्थित सेक्सन २१, पानासोनिक स्टेडियममा भएको फाइनलमा डिकेएमभीएफसीलाई हराएर हिमालयनले प्रतियोगिताको उपाधि जितेको हो ।
निर्धारित तथा अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा हिमालयनले डिकेएमभीएफसीलाई ६–५ ले हराउँदै उपाधि जित्यो ।
उपाधिसँगै हिमालयनले १८ हजार आरएम (मलेसियन मुद्रा) पुरस्कार तथा शिल्ड र प्रमाणपत्र जित्यो । त्यस्तै दोस्रो स्थानमा आएको डिकेएमभीएफसीले ९ हजार आरएम चित्त बुझायो ।
तेस्रो स्थानको हिमालयन फुटबल क्लब ‘बी’ ले ३ हजार आरएम जित्यो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएन मलेसियाका अध्यक्ष विश्व राई राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्का र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
यसअघि मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जन मानसिंह बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए । २८ जनवरीदेखि सुरु भएको प्रतियोगितामा मलेसियामा रहेका विभिन्न नेपाली फुटबल क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।
‘प्रतिभावान् खेलाडी खोज्नका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं । प्रवासमा पनि स्तरीय खेलाडीहरु छन् भन्ने सन्देश प्रतियोगिताको आयोजनाले दिएको छ । आगामी वर्ष पनि यसरी नै प्रतियोगिता आयोजना गर्नेछौ,’ आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले भने ।
समापन समारोहमा बोल्दै नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले विदेशी भूमिमा काम गर्न आएका प्रतिभावान् खेलाडीले यस्ता प्रतियोगिता मार्फत आफ्नो प्रतिभा देखाउने मौका पाउने बताए ।
‘तपाईहरु विभिन्न कारणवस विदेशिनु भयो होला । यस्तो प्रतियोगिता गर्दा तपाईहरुमा भएको प्रतिभा देखिनेछ । राष्ट्रिय टोलीका लागि देश–विदेशमा रहेका यस्तै प्रतिभाको खाँचो छ,’ खड्काले भने ।















प्रतिक्रिया