काठमाडौं, १४ माघ । नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३” को सकिएको छ ।
शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच सम्पन्न भएको हो ।
माघ ९ गतेदेखि लगनखेलमा संचालन भइरहेको सो प्रतियोगिता अन्तर्गत आज अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको भलिबल टीमबीच भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरीको भलिबल टिमलाई २५–२३, २५–२३ र २५–१७ को सोझो सेटमा पराजित गरी प्रथम भएको छ ।
यसअघि, माघ १३ गते तेश्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्चल भलिबल टिमले सशस्त्र प्रहरी बलको भलिबल टिम माथि विजय हासिल गरी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । “प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३” मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।
प्रधानसेनापति क्षत्रीको प्रमुख आतिथ्यमा लगनखेलमा आयोजित उक्त समापन समारोहमा क्षत्रीले प्रतियोगितामा प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र तीन लाखको चेक बोर्ड प्रदान गर्नु भएको थियो ।
त्यसैगरि, समापन समारोहमा द्धितीय हुन सफल नेपाल प्रहरीको भलिबल टिमले प्रमाण पत्र, मेडल तथा १ लाख ५० हजारको चेक बोर्ड र तेस्रो हुन सफल पश्चिमाञ्चल भलिबल टिमले प्रमाण पत्र, मेडल तथा ७५ हजारको चेक बोर्ड प्राप्त गरेको थियो ।
उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक जगदिश प्रसाद भट्ट, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका प्रा.अम. धन बहादुर भट्ट क्षेत्री, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका प्युठ हरि हजुर थापा, उत्कृष्ट डिफेन्डर त्रिभुवन आर्मी क्लबका प्युठ ईश्वर थापा मगर र उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम राना मगरले पुरस्कार स्वरुप जनही रु. १०÷१० हजार नगद प्राप्त गर्नु भएको थियो ।
सोही समारोहमा प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका प्युठ मान बहादुर श्रेष्ठले १५० सिसीको पल्सर मोटरसाईकल प्राप्त गर्नु भएकोे थियो ।
कार्यक्रमकै दौरान प्रधानसेनापति क्षेत्रीले सन् १९७७ मा मित्रराष्ट्र चिनमा आयोजना भएको एसियन भलिबल खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु भएका नेपाली सेनाका स.र. विजय विक्रम खड्का (अ.प्रा.) र सेनानी अक्कल बहादुर चन्द (अ.प्रा.) लाई लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नु भएको थियो ।
उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, नेपाल इन्भेष्टमेण्ट बैंक र गोल्छा अर्गनाइजेसनका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।
“स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आई रहेको छ । “प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३” मा खेलाडीहरुले गरेको प्रदर्शन तथा खेल प्रतिको बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा पनि निरन्तरताको आवश्यकता महसुश गराएको छ । यस किसिमको प्रतियोगिताहरुले नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।















प्रतिक्रिया