कृष्णनगर, १४ माघ । कपिलवस्तुको कृष्णनगरमा जारी १७औं इण्डो नेपाल क्रिकेट प्रतियोगिताको विहीबार दोस्रो खेलमा कृष्णनगरको रोमाञ्चक जीत भएको छ ।
कृष्णनगर र बलरामपुर बीचको खेलको अन्तिम ओभर निकै रोमाञ्चक बनेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको बलरामपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाउन सक्यो । १ सय २१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली कृष्णनगरको १९औं ओभरको समाप्तीमा ७ विकेटको क्षतिमा १ सय १४ रन थियो । अन्तिम ओभरमा जीतका लागि ७ रनको आवश्यकता थियो । घरेलु टिमको हातमा जम्मा तीन विकेट मात्र बाँकी थिए । मुख्य ब्याट्सम्यानहरू आउट भइसकेकाले बलरामपुरले शुरूमा सजिलै खेल जित्ने सबैको अनुमान थियो ।
बलरामपुरको बलिङमा आए मिडियम पेश पप्पु सिद्दिकी । त्यसपछिको अन्तिम ओभरले उपस्थित दर्शकलाई रोमाञ्चक बनाइदियो । पप्पु सिद्धिकीले कृष्णनगरका सेहबाज खानलाई एक बलमै आउट गरिदिए । त्यसपछि ब्याट्स्म्यानमा अनवरको आगमन भयो । अब भने कृष्णनगरलाई ५ बलमा ७ रन आवश्यक थियो । पप्पुको दोस्रो बलिङमा अनवरले एक रन जोर्न सफल भए । अब ४ बलमा ६ रनको आवश्यक देखियो । ब्याट्स्म्यानमा रहेका सागर खत्रीले पप्पुको तेस्रो बलमा पुनः एक रन बनाए । कृष्णनगरलाई ३ बलमा ५ रन बनाउनु थियो । चौका या छक्का नगरीकन खेल जित्न नसकिने स्थिति थियो ।
पप्पुको चौथो बलमा डट भइदियो । अब भने २ बलमै ५ रन बनाउनु थियो । फिल्डिङ्ग क्लोजमा जब पप्पु सिद्धिकीले पाँचौं बलिङ के गरेका थिए ब्याट्स्म्यान अनवरले चौका बनाइदिए । घरेलु टिमलाई जीतको आशा जाग्यो । उनीहरुमा उत्साह थपियो । अन्तिम बलमा एक रन मात्र बनाए खेल जित्न सकिने भयो । पप्पु सिद्धिकीको अन्तिम बलमा अनवरले पुनः एक रन जोर्न सफल भई घरेलु टिमलाई जिताउन सफल भए ।
निकै रोमाञ्चक जीत हुँदा घरेलु दर्शक खुशीले उफ्रे । त्यसअघि पहिले ब्याटिङ गरेको बलरामपुरका कमरनको २१ तथा पप्पु सिद्दिकीको २६ रनको मद्दतले सो लक्ष्य खडा गरेको हो । कृष्णनगरका अब्दुल नसिमले ३ तथा सागर खत्रीले २ विकेट लिएका थिए । जित दिलाउने क्रममा कृष्णनगरका सुहेल खानले २७, प्रज्वल थापाले २१ तथा सागर खत्रीले १४ रनको इनिङ खेले । बलरामपुरका पप्पु सिद्दिकीले ३ तथा अमिर राजाले २ विकेट लिए पनि खेल जिताउन सकेनन् । खेलको म्यान अफ द म्याच कृष्णनगरका सागर खत्री भए । विहानको खेलमा नेपालगञ्ज र विराटनगरबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार अर्थात माघ १४ गते चितवन र भैरहवाका बीच प्रतिस्पर्धा हुने आयोजकका गिरधारीलाल शर्माले जानकारी दिएका छन् ।
खेलको बिजेताले एक लाख र उपबिजेताले ५० हजार पाउने आयोजकले जनाएका छन् । त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुई हजारसहित आकर्षक गिफ्ट ह्याम्पर दिइने बताइएको छ । जय नेपाल स्पोर्टस क्लबको आयोजनामा माघ १२ गते जारी क्रिकेट प्रतियोगिता २० गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
















प्रतिक्रिया