५ मंसिर २०८३, शनिबार

गोप्य वार्ताहरूमा प्रधानमन्त्री, भित्रभित्रै कुरा मिलाउँदै !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनविरुद्ध आफ्नो असहमति जनाउँदै आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले अन्य दलहरूसँगको सम्बन्धमा सुधारको प्रयास गरिरहेका छन् । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गरेका तर, बाहिर बसेका ठूला दलहरूसँग गोप्य रुपमा वार्ता गर्दै आएको खुलासा भएको छ ।

ती छलफल र वार्तामा संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा कुराकानीहरू भए पनि खासै ठोस सहमतिहरू हुन सकेका छैनन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालले बुधबार पनि राप्रपाका अध्यक्ष कमल थापासंग परामर्श गरेका छन् ।

छलफलमा के–के विषयमा कुराकानी भएको हो स्पष्ट नबताइए पनि प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकमा सहयोग गरी स्थानीय निर्वाचनका लागि आग्रह गरेका थिए । जवाफमा राप्रपा अध्यक्ष थापाले आफ्नो केही पूर्वसर्त रहेको भन्दै संशोधनमा परिमार्जनको आवश्यक्ता औँल्याएको राप्रपाका एक नेताले बताए ।

एमाले पनि स्थानीय निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्ने पक्षमा छ । उसले पनि निर्वाचन गर्ने सर्तमा संविधान संशोधनमा पनि सहयोग गर्ने संकेत दिएको सत्तारुढ दलहरूका नेताहरूको दाबी छ । तर, एमालेले भने यसमा आफ्नो आधिकारिक धारणा दिइसकेको छैन ।

प्रधानमन्त्री दाहालले विजय गच्छदारसँग पनि केही समय अगाडि परामर्श गरेको बुझिएको छ । दाहालले गच्छदारलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । गच्छदार त्यस विषयमा सकारात्मक रहे पनि अन्य दलहरूका कारण समस्या परेको उच्च स्रोतको भनाइ छ ।

कांग्रेसको चरम दबाबमा रहेका प्रधानमन्त्री दाहालले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि उनले मधेसी मोर्चा र अन्य सत्तासाझेदार दलहरूलाई चिढ्याउन चाहँदैनन् ।

आफ्नै कार्यकालमा बजेट ल्याउने तयारी थालेका दाहालले चुनाव वैशाखभित्र हुनेमा भने आशंका गर्न थालेका छन् । बाहिर जे भने पनि प्रधानमन्त्री दाहालले निर्वाचन गराउन सकिँदैन भनेर आफू निकटका नेताहरूलाई भन्ने गरेका छन् ।