काठमाडौं । विनय श्रेष्ठसहितका निर्माताहरू मिलेर ‘सृष्टिको फूल’ नामक फिल्म निर्माण गर्ने भएका छन् । ‘सृष्टिको फूल’मा श्रेष्ठसहित सिसम डाँगी, किशोर खत्री र त्रिरत्न श्रेष्ठको लगानी छ । फिल्मलाई निर्देशन विचल किरातीले गर्ने छन् ।
‘क्वीन’, ‘कहिँ कहिँ मिलेँगे’, ‘तेजा’लगायतका हिन्दी फिल्ममा सहायक निर्देशकको काम गरिसकेका किरातीले गोपाल ढकालको कथामा फिल्म निर्देशन गर्न लागेका हुन् । ‘सृष्टिको फूल’मा मुख्य अभिनेत्रीको भूमिका भावना गुरुङले गर्ने छिन् ।
मोडलिङमा राम्रो अभिनय छाड्न सफल अभिनेत्री भावना नेपाली फिल्ममा जम्दै गरेकी नायिका हुन् । भावनका साथै यो फिल्ममा अमृता घर्ती मगर, मिलन थापाले अभिनय गर्ने छन् । ‘सृष्टिको फूल’मा बाँकी कलाकारहरूको छनौट भइरहेको निर्माता विनय श्रेष्ठले बताए ।
फागुनको दोस्रो साताबाट छायाँकनमा जाने ‘सृष्टिको फूल’का गीतहरू भानुभक्त ढकाल, ओम सुनारले लेखेका हुन् । संगीतकार पनि ओम सुनार हुन् । त्रिकोणत्मक प्रेम कथामा आधारित ‘सृष्टिको फूल’लाई उच्च प्रविधिमा तयार गरिने निर्देशक किरातीले बताए । ‘मेरा अहिलेसम्मका फिल्मभन्दा उच्च प्रविधिमा ‘सृष्टिको फूल’ बनाउने तयारी भएको छ ।’
ईश्वर, सत्यदीप जस्ता फिल्म बनाइसकेका विनय श्रेष्ठले भने, ‘फिल्मको कथावस्तुलाई पर्दामा जस्ताको त्यस्तै उतार्ने तयारी भएको छ ।’ उनले अघिल्ला फिल्महरूभन्दा ‘सृष्टिको फूल’को निर्माण पक्षमा अलिक धेरै ध्यान दिइएको छ । श्रेष्ठले अपहरण, चाँदनी, दोबाटो, अर्जुन, प्रहार जस्ता फिल्ममा पनि संयुक्त रुपमा लगानी लगेका थिए । ती फिल्महरूबाट धेरै कुरा सिक्न पाएको उनले बताए ।















प्रतिक्रिया