काठमाडौं । छवि ओझाको फिल्मबाट चर्चा कमाउन सफल नायिका शिल्पा पोखरेलले पनि फिल्म बनाउने भएकि छिन् । छविराज ओझाको छविराज प्रोडक्सनबाट बन्न लागेको ‘मंगलम्’बाट शिल्पा निर्मात्रीका रूपमा समेत प्रस्तुत हुन लागेकी हुन् ।
शुक्रबारदेखि सुटिङ थालिएको मंगलमको निर्देशन नबल नेपालले गर्ने छन् । शिल्पा छविराजको ‘लज्जा’बाट हिरोइन बनेकी हुन् । लज्जापछि छविराजका सबै फिल्ममा प्रमुख भूमिका शिल्पाले नै निर्वाह गर्दै आइरहेकी छिन् ।
गत दसैँमा ‘किस्मत–२’ प्रदर्शनका क्रममा छविराज र शिल्पाले बिहे गरेको समेत हल्ला चलेको थियो ।
करिश्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा, झरना थापा, मौसमी मल्ल, रेजिना उप्रेती, पूजना प्रधान, नम्रता श्रेष्ठ, जेनी कुवँर, ऋचा सिंह ठकुरी, ऋचा शर्मा, ऋचा घिमिरे, शुभेच्छा थापालगायतले फिल्म निर्माण गरिसकेका छन् ।
‘नोभेम्बर रेन’की सहनायिका छुल्ठिम डोल्माले ‘डायरी’ नामक फिल्म बनाएकी छिन् । अब अर्की अभिनेत्री निशा अधिकारी पनि फिल्म निर्माणमा उत्रिएकी छिन् । उनले ‘झ्यानाकुटी’ निर्माण गर्न लागेकी हुन् ।
निशाको झ्यानाकुटीको सुटिङ फागुनबाट सुरु हुने बताइएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्ने झ्यानाकुटीले आफूलाई निर्मात्रीका रूपमा स्थापित गर्ने विश्वास निशाको छ ।















प्रतिक्रिया