
काठमाडौं, ७ माघ । थरुहट तराई पार्टी (लोकतान्त्रिक)की सांसद गंगा चौधरीले थारुहरूको मागअनुसार कैलाली र कञ्चनपुर जिल्लालाई पाँच नम्बर प्रदेशमा नल्याउँदासम्म समस्याको समाधान नहुने बताएकी छिन् ।
संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले कैलाली र कञ्चनपुरको विवाद पहिला मिलाउनु पर्ने बताइन् । ‘संविधान संशोधन प्रक्रियाले लामो समयदेखि आन्दोलनरत थारु समुदायको माग पूरा हुन्छ भन्ने ठानेका थियौँ’, उनले भनिन्, ‘अहिलेको संशोधनले त झन् अलमल्याएको छ । यसमा थारुको मागअनुसार परिमार्जन हुनुपर्छ ।’
सांसद चौधरीले भनिन्, ‘संशोधन प्रक्रियाले घाउ नभएको ठाउँमा घाउ बनाइ दिएको छ । घाउमा मलम लगाउनुको साटो घउ ठूलो बनेको छ ।’ उनले थारुका माग पूरा नहुँदासम्म संविधान कार्यान्वयन नहुनेभन्दै थारुहरूले माग पूरा गराउन अर्को आन्दोलन चर्काउने चेतावनी दिइन् ।
संविधान कार्यान्वयनमा हेलचेक्र्याइ भइरहेको बताएकी सांसद चौधरीले भनिन्, ‘जहाँबाट संविधान कार्यान्वयन हुनुनर्पे हो त्यहीबाट संविधान उल्लंघन गरिएको छ । उच्च न्यायालयका न्यायाधीशहरू नियुक्तिका विषयमा ठूलो विभेद भएको छ ।’ उनले भनिन्, ‘कानून लेख्ने ठूलो कुरा होइन । पालना गर्ने कुरा ठूलो हो । संविधान सबैले पालना गर्नुपर्छ ।’
तराई र पहाड छुट्टाउने गरी आएको संशोधन प्रस्तावले अहिले सडक तात्तिएको भन्दै सांसद चौधरीले भनन्, ‘आफ्ना मागका लागि थारुहरू पनि सडकमा आउन आतुर छन् । थारुहरूलाई आन्दोलनको महसुश भएको छ ।’ उनले टीकापुर घटनाका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्न आग्रह गर्दै २२ जनालाई आममाफीको माग गरिन् ।











प्रतिक्रिया