४ मंसिर २०८३, शुक्रबार

बलिदानी दिवसमा केपी ओलीलाई मधेस आउन निम्तो, सीके राउत पनि आउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब/गणेश साह

सिरहा, ३ माघ । मधेस आन्दोलनका नाइके तथा अगुवा कृष्णबहादुर यादबले मधेस विरोधीको आरोप लागेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लहान आएर मधेसी सहिदलाई माल्र्यापण गर्न आग्रह गरेका छन् ।

मधेस आन्दोलनको उदुगम स्थल भनेर चिनिने सिरहाको लहानमा आज पत्रकार सम्मेलन गरी अगुवा यादबले एमाले अध्यक्ष ओलीलाई १० औं बलिदानी दिवसको अवसरमा माघ ५ गते लहान आउन निम्तो समेत दिए । उनले भने– ‘माघ ५ गते लहान आएर मधेसी सहिदलाई माल्र्यापण गरुन । अनी मात्र हामी बुझ्छौं ओली मधेस विरोधी हैनन् ।’

अगुवा यादबले सहिद कुनै पार्टी वा व्यक्तिको नभई राष्ट्रको सम्पत्ति भएकोले जो कोहीलाई पनि माल्यार्पण गर्नलाई रोक्न नहुने तर्क गरे । उनले प्रमुख दलका अन्य नेताहरुलाई समेत मधेसी सहिदलाई माल्यार्पण गरी सहिद दिवस मनाउन आग्रह गरेका छन् ।

मधेसी नेताहरुलाई एक हुन आग्रह

मधेस आन्दोलनका अगुवा भनेर चिनिने यादबले मधेसवादी दलहरु एक हुन नसक्दा मधेसी जनता अधिकार पाउनबाट बञ्चित भएको आरोप लगाए । उनले मधेसी मोर्चामा आवद्ध पार्टीहरुलाई एक हुनुको विकल्प नरहेको बताउँदै सबै मधेसी दलका राष्ट्रिय अध्यक्षलाई एकैपटक एकै ठाउँमा भव्य रुपले १० औं मधेसी बलिदानी दिवस मनाउन आग्रह गरे ।

को हुन् अगुवा यादब ?

०६३ माघ ३ गते तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष रहेका उपेन्द्र यादबले राजधानी काठमाडौंमा मधेस विरोधी रहेको भन्दै अन्तरिम संविधान जलाएका थिए । संविधान जलाएपछि प्रहरीले पक्राउ पर्दा मधेसभर प्रदर्शन भयो । कतिपय ठाउँमा राजमार्ग अवरुद्ध गर्यो । सोही क्रममा लहानमा पनि कृष्णबहादुर यादबकै अगुवाइमा राजमार्ग अवरुद्ध गरिएको थियो ।

राजमार्ग अवरुद्ध रहेको बेला तत्कालिन नेकपा माओवादीका केहि कार्यकर्ता चढेको गाडी पूर्वबाट पश्चिम पार गर्ने प्रयास भयो । अगुवा यादब लगायतले गाडी लग्न नदिने भनेर रोक्ने र गाडीबाटै गोली चल्दा लहानमा अध्ययनरत मझौरा घर भएका विद्यार्थी रमेश महतोलाई गोली लाग्यो । उनी सहिद भएलगत्तै मधेसभर आगो झै आन्दोलन उग्र बनेको थियो । त्यसपछि मधेसमा सो बेला ५४ जना मधेसी सहिद भएका थिए ।

को–को मधेसी नेता आउँदै छन् लहान ?

१० औं बलिदानी दिवस मनाउन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत माघ ५ गते लहान आउने पक्का भइसकेको छ । अध्यक्ष उपेन्द्र लहानस्थित सहिदलाई माल्यार्पण गर्ने र गढिया पुगेर कोणसभा गर्ने कार्यक्रम तय भएको छ भने डा. राउत माल्यार्पण गरी लहानस्थित पशुपति आदर्श उच्च मावि प्राङ्गणमा भव्य जनसभा गर्ने कार्यक्रम छ । डा. राउत व्यापक प्रचार प्रसार गरेपनि प्रहरीले कार्यक्रम गर्न नदिने स्रोतले जनाए ।

यता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र राय यादब, तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु लहान नआउने ति पार्टी निकट नेताहरुले जनाए । महतो, यादब र ठाकुर नआउने भएपछि सो पार्टी निकटका जिल्ला नेताहरु रुष्ट बनेका छन् ।