काठमाडौं, ३ माघ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गएको मंसिरमै निर्वाचन गर्ने घोषणा गरेको थियो । तर, बीचमै सरकार ढल्यो । र, त्यसपछि प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले अहिलेसम्म मिति घोषणा गर्न सकेको छैन् । र, जेठसम्म गर्ने तयारी रहेको बताइन्छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने, ‘अब चैत्रमा चुनाव हुने संभावना टर्यो, मैले चाहीँ कुनै संभावना देखेको छैन् ।’ यद्यपी उनले दलहरुबीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने समेत सरकारको तयारी रहेको खुलासा गरे ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पाण्डेले दलहरुको सहमतिमै सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जनाए । उनले भने, ‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ ।’
उनले चुनाव कहिले गर्ने भन्ने कुरा अहिले भन्नुभन्दा पनि मनशुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए । उनले निर्वाचनसम्बन्धी ऐन–विद्येयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विद्येयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराएर भएपनि चुनावको वातावरण जतिसक्दो चाँडो बनाउने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले मनशुन अगाडि स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि अन्य तहको निर्वाचन गर्ने कुरा जनाए ।
‘विद्येयक परिमार्जनसहित संविधान संशोधन हुन्छ’
मन्त्री पाण्डेले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक आवश्यक परे आवश्यक परिमार्जनसहित पारित गराएर भएपनि असन्तुष्टहरुको माग सम्बोधन गर्ने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले भने, ‘अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आएको छ, केही लचकता देखाएको छ, त्यसैले मधेशी मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्छ भन्ने कुरामा हामी बढि केन्द्रित छौं, अहिले त्यसैको लागि सरकारले काम गरिरहेको छ ।’
‘स्थानीय तह पूनर्संरचना प्रतिवेदन मन्त्रिपरिषदमा’
त्यस्तै उनले हालै स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेनपनि छिट्टै मन्त्रिपरिषदमा लैजान आफूले तयारी गरेको जनाउँदै भने, ‘अबको क्याविनेटमा म त्यो प्रतिवेदन लैजाँदैछु, त्यसपछि त्यसलाई राजपत्रमा छापेर अघि बढाईन्छ ।’ उनले प्रतिवेदन राजपत्रमा छापिईसकेपछि स्वतः कार्यान्वयन हुनेसमेत जिकिर गरे ।












प्रतिक्रिया