काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘हिमालको गोठालो’ को विमोचन गर्नुभयो । विमोचनपछि डा. भट्टराईले ‘यो कृति मार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा म निकै गर्व गर्छु’ भन्नुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो– ‘नेपाल सबै जातजातिको मुलुक हो । अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ ।’
कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले भन्नुभयो– ‘सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको छ । गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रिय स्तरको तालिम लिने सुनारको संघर्षशील कथाले यो कृति सबैका लागि प्रेरणादायी बनेको छ ।’
धार्चे मनास्लु पत्रिकाद्वारा आयोजित लोकार्पण समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मन बहादुर पुन मगर लगायतले बोल्नु भएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनारबहादुर गुरुङद्वारा लेखिएको हिमालको गोठालोको प्रकाशन सुनार ट्रष्ट नेपालद्वारा गरिएको हो ।
लेखक गुरुङ गोरखा– लाप्राकका हुनुहुन्छ । पछिल्लो समय उहाँ शिक्षा क्षेत्रमा विशिष्ट ढंगले योगदान पुर्याइरहनु भएको छ । समाजसेवी गुरुङकै नेतृत्वमा धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । हिमालको गोठालोबाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताउनु भएको छ ।
















प्रतिक्रिया