काठमाडौं, २८ पुस । थारु समुदायले प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउँदै आएको माघी पर्व यस पटक पनि काठमाडौंमा भव्य तयारीका साथ मनाइँदैछ ।
काठमाडौंको टुडिखेलमा पुस २९ र माघ १ गते दुई दिनसम्म चल्ने थारु समुदायको माघी महोत्सव २०७३ मा खानाका विभिन्न परिकार राखिएका छन् । माघी महोत्सव पुस २९ गतेदेखि सुरु भए पनि उद्घाटन भने माघको १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।
महोत्सवको अर्थ समितिका संयोजक दिनेश चौधरीले थारु संस्कृति बचाउनका लागि थारु महोत्सव राखिएको बताए । ‘नयाँ पुस्तालाई थारु
संस्कृतिको विषयमा जानकारी होस् भनेर काठमाडौंमा माघी महोत्सव राखिएको हो’, उनले भने, ‘महोत्सवमा थारु संस्कृति झल्किने नाचगान, प्रस्तुति र खानेकुराका परिकार राखिनेछ ।’
बर्दियाली थारु मञ्चसहित २९ वटा थारु निकट संघसंस्थाहरूको संयुक्त पहलमा हुन लागेको माघी महोत्सवमा यसपटक प्रवेश निःशुल्क गरिएको छ । अर्थ समितिका संयोजक चौधरीले भने, ‘प्रवेश शुःल्क लिँदा धेरै सर्वसाधारण नआउन सक्छन् । हाम्रो उदेश्य भनेको थारु संस्कृति धेरैभन्दा धेरैलाई देखाउनु हो । प्रवेश शुःल्क लिइने छैन ।’
माघी महोत्सवमा ढिक्री, घोँगी, सिद्राको अचार, मुसाको मासु, दाङको बदिया भालेको मासु, जाँड, घरपाला रक्सी आदि खाने परिकारहरू प्रदर्शनमा राखिने छन् । अर्थसमितिका संयोजक चौधरीले भने, ‘थारु संस्कृतिमा प्रयोग हुने खानेकुरा सबै महोत्सवमा देख्न र आनन्दलिन पाइनेछ ।’
महोत्सवमा आउने सर्वसाधारणहरूको सुरक्षाका लागि प्रहरीसँग समन्वयन गरिएको उनले बताए ।















प्रतिक्रिया