काठमाडौं । फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका शंकर महर्जनलाई अहिलेसम्म कति फिल्ममा निर्देशन गरे भन्ने नै थाहा छैन । तपाईले कति वटा फिल्ममा द्वन्द्व निर्देशन गर्नुभयो भन्ने प्रश्नमा महर्जन भन्छन्, ‘यति नै भन्ने छैन । गनेको पनि छैन । पाँच सयभन्दा धेरै पुगे होलान् ?’ सहायक द्वन्द्व निर्देशक भएर काम गरेको त हिसावकिताव नै छैन, उनलाई ।
०४९ सालदेखि फिल्ममा द्वन्द्व निर्देशन गर्न थालेका महर्जनलाई द्वन्द्व निर्देशन गर्न कुनै समस्या छैन । काम पनि पाइरहेका छन् । अरुको भन्दा अलिक भिन्दै द्वन्द्वका कला सिकाउने गरेका महर्जन भन्छन्, ‘द्वन्द्व निर्देशनको विषय मैले औपचारिक रुपमा पढाइ गरेको छैन । तर अरुको भन्दा कम पनि गरेको छैन ।’ उनलाई फिल्म द्वन्द्व निर्देशनमा एन.बी. महर्जनले ल्याएका हुन् । एन.बी. महजर्नको उनी अत्यन्तै श्रद्धाका साथ नाम लिन्छन् पनि ।
कुराकानीका क्रममा द्वन्द्व निर्देशक महर्जनले एन.बी. महर्जनको नाममा प्रत्येक बाक्यमा लिने गर्थे । ‘एन.बी.महर्जन द्वन्द्वको क्षेत्रमा मेरो गुरु हुनुहुन्छ’, उनले भने, ‘उहाँकै देनका कारण म यहाँसम्म आइपुगेको छु ।’ उनलाई परिवारबाट पनि उल्लेख्य सहयोग छ । काठमाडौंको विजेश्रीका स्थायी बासिन्दा महर्जन फिल्ममा खलपात्रका रुपमा खेल्ने गरेका छन् ।
फिल्ममा नायकलाई कुटपिट गर्ने गरेका द्वन्द्व निर्देशक महर्जनलाई झै–झगडा पटक्कै मन पर्दैन । द्वन्द्व निर्देशनका क्रममा आफ्नो देब्रे हातमा नाडीमा गम्भीर चोट लगाएका महजर्न भन्छन्, ‘द्वन्द्व सिकाउने क्रममा जोखिम छ । मलाई कति पटक गम्भीर चोटपटक लागि सकेको छ । देब्रे हातमा अहिले पनि यति ठूलो चोटको दाग छ ।’

महर्जनले अहिले भने ‘रेश’ फिल्ममा नायिका पुष्पा लिम्बुलाई द्वन्द्व सिकाइ रहेका छन् । ‘रेश’लाई किशोर सुव्वाले निर्देशन गरिरहेका छन् । नायिका लिम्बुलाई द्वन्द्व सिकाइरहेका महर्जन भन्छन्, ‘सिकाएको कुरा पुष्पाजीले राम्रोसँग गरिरहनु भएको छ । म सन्तुष्ट छु ।’
दक्षिण भारतका फिल्ममा देखाइने द्वन्द्वको प्रभाव नेपाली फिल्ममा पनि परेको उनको भनाइ छ । ‘राम्रो कुराको प्रभाव पर्नुलाई अन्यथा लिनु हुँदैन’, महर्जन भन्छन्, ‘त्यसलाई पनि फरक शैलीमा प्रयोग गर्न सकिन्छ ।’ द्वन्द्व कला सिकाउने क्रममा केटीले भन्दा केटाले छिटो सिक्ने गरेको उनको अनुभव छ । राजेश हमाल, धिरेन शाक्य, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट लगायतका अधिकांश नायकलाई उनले फिल्ममा द्वन्द्व सिकाएका छन् ।
द्वन्द्व निर्देशक महर्जनले ‘धुम’, ‘आफन्त’, ‘ए मेरो हजुर’, ‘आफ्नो मान्छे’ सहितका धेरै फिल्ममा काम गरेका छन् ।
















प्रतिक्रिया