चितवन, २५ पुस । सत्ता पक्षले पेलेरै संविधान संशोधन प्रस्ताव पेश गरेको आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको खण्डन गर्नुभएको छ । उहाँले आइतबार संसदमा टेबल गरिएको संविधान संशोधनको प्रस्ताव प्रतिपक्ष दललाई झुक्याएर वा पेलेर नभइ प्रतिपक्षसँगकै सहमतिमा भएको दाबी गर्नुभएको छ ।
महोत्सवको उद्घाटन तथा विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा सोमबार गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्रीले भरतपुर विमानस्थलमा प्रेस सेन्टरको पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो- ‘बाहिर हल्ला फिजाइएजस्तो नभई एमालेकै सहमतिमा संशोधनको प्रस्ताव टेबल गरिएको हो ।’
उहाँले संशोधनको प्रस्ताव टेबल गर्नुअघि नै केही प्रमुख नेताहरुसंग सभामुखको संविधान संशोधनाबारे छलफल भएको जानकारी दिनुभयो ।
‘मैले पनि संविधान संशोधनको विषयमा एमाले नेता केपी ओलीसंग छलफल गरेको छु’ उहाँले भन्नुभयो, ‘उहाँसंग सहमति नभएपनि प्रक्रिया अगाडि बढाउनेमा सहमति भएको थियो, त्यहीअनुसार प्रस्ताव पेश गरिएको हो ।’ प्रधानमन्त्री प्रचण्डले देशलाई समझदारीका साथ अगाडि बढाउन र संविधान कार्यान्वन गर्न पनि ओलीसंग छलफल भएको प्रष्ट पार्नुभयो ।
आइतबार राष्ट्रपतिको कार्यालयमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि आफ्नो कुराकानी भएको उहाँको भनाई छ ।












प्रतिक्रिया