४ मंसिर २०८३, शुक्रबार

भीम रावलको प्रश्न- माओवादी केन्द्र र काँग्रेसको संसदीय व्यवस्थामा किन दुवाई ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २५ पुस । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा रक्षा मन्त्री भीम रावलले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संसदीय व्यवस्थाको दुवाई गर्ने नैतिकता के हो ? भन्दै प्रश्न गरेका छन् ।

अंगिकृत नागरिकता भएकालाई देशको मूख्य पदहरुमा जिम्मेवारी दिने, विदेशीका इशारामा चल्ने, सदनमा कुर्सी तोडफोड गर्ने, विभिन्न संरचना ध्वस्त पार्नेहरुले संसदीय व्यवस्थाको अपमान गरेकाले माओवादी केन्द्र र काँग्रेस संसदीय व्यवस्था विरोधी भएको बताए ।

गृहजिल्ला अछाम जानेक्रममा सोमबार एमाले डोटीले आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जन परिचालन अभियान २०७३’ को समिक्षा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

आइतबार संसदमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने क्रममा एमालेका सबै सांसदहरुले विरोध जनाउँदै गर्दा पनि संशोधन प्रस्ताव टेबल गराउनु संसदीय अभ्यास र संसदीय नियम विपरित भएको उनले बताए ।

रावलले भने– ‘दुई जनाले उठेर विरोध गरे पनि संसद अवरुद्ध हुन्छ, तर एमालेका सबै सांसदहरुले एकमुष्ट उठेर विरोध जनाउँदा पनि सभामूख ओनसरी घर्तीले संशोधन प्रस्ताव अगाडी बढाउनु संसदीय नियमावली र मान्यता विपरित हो ।’

मधेशी मोर्चाका माग पूरा गर्ने नाममा काँग्रेस र माओवादी दिल्लीमा पुगेर संविधान संशोधनका योजना बनाउने र संविधानमा कुन–कुन विषय सच्याउने भन्दै मधेशवादी दलहरु भारतीय दूतावास धाउने गरेको एमाले नेता रावलले बताए ।

उनले थपे–‘माओवादी केन्द्र र काँग्रेसले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाएका तीनै मधेशवादी दलहरुसँग घाँटी जोडेकाले माओवादी, काँग्रेसले सोहि संविधान बमोजिम नैतिक रुपमा पनि सरकारमा बसेर पद सम्हाल्न मिल्दैन ।’

संविधान संशोधनका नाममा काँग्रेस माओवादीले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डतामाथि नकारात्मक असर पारेको रावलले बताए । यस विषयमा नेकपा एमाललेले विरोध जनाएको र आगामी दिनमा आन्दोलित हुने भन्दै जिल्ला तहमा समेत आन्दोलनका लागि तयार रहन निर्देशन दिए ।

नेता रावल आजै अछामको नयाँ नगरपालीका साँफेबगर नगरपालीकाको उद्घाटन गर्न अछाम प्रस्थान गरेका छन् भने भोलि मंगलबार अछामकै मंगलसैन नगरपालिकाको नगरपरिषदलाई सम्बोधन गर्नेछन् ।