
काठमाडौं, २५ पुस । संगठित अपराधलाई संरक्षण गरेको र हैसियतभन्दा धेरै सम्पत्ति आर्जन गरेको अभियोगमा प्रशासनको कडा निगरानीमा परेका कथित ‘डन’ मिलन गुरुङ उर्फ मिलन चक्रेले लाखौँ रकम खर्च गरेर कराते प्रतियोगिता सम्पन्न गरेका छन् ।
कराते प्रतियोगितामा सहभागी सबैलाई चक्रे मिलनले तीन–तीन हजारका दरले पैसा पनि वितरण गरेका छन् । राजधानीका बसाइ, खानपिन, रक्सीको भोज आदि सबैको खर्च मिलन चक्रेले व्यहोरेको स्रोतले जनाएको छ । चक्रे मिलनले प्रतियोगितामा खर्च भएको रकमको स्रोत र कति खर्च भएको थियो केही बताएका छैनन् ।
सहभागी सबै खेलाडीलाई ‘केटीएम सिटी ब्रान्ड’का नाममा तीन हजारको भौचर उपलब्ध गराएको संघका अध्यक्ष मिलन गुरुङ अर्थात मिलन चक्रेले बताए । ‘केटीएम सिटी ब्रान्डले खेलाडीका लागि तीन हजार बराबरको खेल सामाग्री प्रायोजन गरेको छ’, उनले दाबी गरे ।
स्रोतका अनुसार, गुन्डा नाईको चक्रे मिलनले आफ्नो ‘कालो धन’लाई बैधानिक दिनका लागि खेलकुद प्रतियोगिता र सामाजिक कामहरूमा पैसा खर्च गर्ने गरेका छन् ।
त्रिुपरेश्वरमा शनिबार मध्यराति समापन भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब कुमार विष्ट, संघका उपाध्यक्ष राजीव महर्जन र महासचिव प्रेमनाथ श्रेष्ठ लगयात पुगेका थिए । उनले किन मध्यरातिसम्म प्रतियोगिता राखे भन्नेमा पनि आशंका बढेको छ ।
नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको स्थापना गरेर चक्रे मिलनले आफूलाई लागेका आरोपहरू पखाल्ने प्रयासमा रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
चक्रे मिलनले आफ्नो संघको आयोजनामा सर्बाधिक नगद राशीको कराते प्रतियोगिता भनेर प्रचार प्रसार समेत गराएका थिए । दुई दिनसम्म राजधानीमा भएको प्रतियोगितामा २२ जिल्लाका १ सय ७० खेलाडीले ६ तौल समूहमा प्रतिस्पर्धा गरेका संघका उपाध्यक्ष राजिव महर्जनले बताए । खेलमा सहभागी भएका सबै १७० खेलाडीलाई चक्रे मिलनले तीन–तीन हजारका दरले रकम वितरण गरेका हुन् ।
यसैबीच, प्रथम आइकेकेएफ नेपाल क्योकुशिन कराते च्याम्पियनसिपमा खुल्ला ६० केजीमाथि राकेश महर्जन च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार राति भएको फाइनल खेलमा म्याग्दीका निर्मल केसीलाई हराउँदैै काठमाडौंका राकेश महर्जन च्याम्पियन भए ।
सोही तौलमा काठमाडौंका दीपेश महर्जन तेस्रो, मकवानपुरका सत्तल लामा चौथो र काठमाडौंकै सुशील श्रेष्ठले पाँचौ भए ।
पहिलो देखि पाँचौँ हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ७ हजार र २ हजार ५ सय प्राप्त गरे । ६० केजीमुनि काठमाडौं भीमबहादुर थापा मगर पहिलो, कास्कीका गणेश अधिकारी दोस्रो, दोलखाका अनीष थोकर तेस्रो, सर्लाहीका राम कुमार सुनुवार चौथो र काठमाडौंका सागर महर्जन पाँचौ भए ।
५० केजीमुनि पोखराका पूर्णबहादुर थापा मगर पहिलो, दोलखाका लाप्साङ शेर्पा दोस्रो, काभ्रेका अर्जुन लामा तेस्रो, कास्कीका अनिल बराम चौथो र कास्कीकै सुमन बराम पाचौँ भए ।
३५ केजीतौल समूहमा सर्लाहीका धर्मेन्द्र राम पहिलो, काभ्रका किरण माझी दोस्रो, कास्कीका राहुल गुरुङ तेस्रो, रौतहटका निराकर रायमाझी चौथो र ललितपुरका युविसन मगर पाचौँ भए । माथीका दुई तौल समूहले क्रमशः क्रमश ८ हजार, ४ हजार, २ हजार र एक एक हजार प्राप्त गरे ।
३० केजीमुनिका तौल समूहमा काठमाडौंका अजय रुम्बा पहिलो, काभ्रका रविन रेग्मी दोस्रो, कास्कीका मदन थापा मगर तेस्रो, रौतहटका लीलाकर रायमाझी चौथो र ललितपुरका विवेक तामाङ पाँचौ हुन सफल भए । उनीहरुले क्रमशः ५ हजार, २ हजार ५ सय, एक हजार दुई सय र एक एक हजार हात पारे ।
यसअघि भएको महिला खुल्लातर्फ कास्की सुस्मी च्याम्पियन भइकी थिइन् । उनीले फाइनलमा दोलखाकी अनुपा नेपालीलाई हराइन । सोही समूहमा सर्लाहीकी निसा राई तृतीय, ललितपुरकी चमेली घलान चौथो तथा सर्लाही नीमा राई पाँचौँ भइन् । प्रतियोगिताको खेलहरू जारी छ ।
प्राविधिक कारणले कृतिम लाइटमा सबै खेल शनिबार राति नै सञ्चालन गरेको आयोजकले जनाएको छ । उनीहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । प्रतियोगिताका तौल समूहका च्याम्पियनले नगद र ट्रफी प्रदान गरिएको चक्रे मिलनले जनाएका छन् ।











प्रतिक्रिया