काठमाडौं, २४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टिकरण बुझाउनुभएको छ ।
ज्ञवालीले आइतबार बिहान प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियालाई छ पेज लामो स्पष्टिकरण बुझाउनुभएको उहाँका प्रेस सहयोगी भुवन केसीले जानकारी दिनुभयो ।
‘विभिन्न निकायहरुबीच समन्वय, पुनर्बास र भूकम्पपीडित परिवारलाई अनुदान वितरण सम्बन्धी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुनःस्पष्टिकरण सोधेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुन स्पष्टिकरण बुझाउनु भएको छ,’ केसीले भन्नुभयो ।
शुक्रबार ‘तपाईलाई पदबाट किन नहटाउने’ भनेर प्रधानमन्त्रीले सोधेको २४ घन्टे स्पष्टिकरणमा जवाफ दिनुहुँदै ज्ञवालीले आज पुनः स्पष्टिकरण बुझाउनुभएको हो ।
स्पष्टिकरणमा उहाँले पुनर्निर्माणमा विभिन्न निकायबीचको समन्वय, पुनर्वास र भूकम्पपीडित परिवारलाई अनुदान वितरणसम्बन्धी आफूले अहिलेसम्म गरेका कामका बारेमा उल्लेख गर्नुभएको छ । उहाँले म कसरी अयोग्य भन्दै सरकारलाई प्रश्न समेत गर्नुभएको छ ।
यसअघि सरकारले अघिल्लो हप्ता पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि जनाउँदै ज्ञवालीलाई सात दिने स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा उहाँले सरकारी निकायबाटै सहयोग नपाएको गुनासोसहित स्पष्टिकरण बुझाउनुभएको थियो ।
तर, उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई पदबाट हटाउनुपर्ने निर्णय गरेको थियो । र, बर्खास्त गर्ने तथा नयाँ सिइओ नियुक्त गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो ।
हटाउने जिम्मेवारी आफूमाथि आएपछि प्रधानमन्त्रीले महान्यायाधिवक्तासँग परामर्श गरी ज्ञवालीलाई दोस्रो स्पष्टिकरण सोध्ने निर्णय गराउनुभएको थियो ।












प्रतिक्रिया