काठमाडौं, २३ पुस । कथित ‘डन’को नामले कहलिएका गुन्डा नाईके ‘चक्रे मिलन’ उर्फ मिलन गुरुङ र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा सँगै देखिएका छन् । कुम जोडेर बसेका यी दुईबीच हिमचिम बढ्दै गएको प्रत्यक्ष देख्नेहरूले टिप्पणी गरेका छन् ।
‘चक्रे मलिन’ले आयोजना गरेको खेलकुदसम्बन्धी कार्यक्रमको प्रमुख अतिथि बनेर महासचिव ‘विप्लव’ शुक्रबार उद्घाटन गर्न त्रिपुरेश्वर पुगेका हुन् । ‘चक्रे मिलन’ र ‘विप्लव’ले खेलकुद कार्यक्रमको संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन समेत गरे । कुनै बेला राजधानीमा गुन्डागर्दी गरेर प्रहरी प्रशासनलाई हैरान बनाएका ‘चक्रे मिलन’को कार्यक्रममा महासचिव ‘विप्लव’लाई देखेपछि उपस्थित धेरैजना आश्चर्य चकित परेका थिए ।
अकुत सम्पत्ति कमाएको र स्रोत नखुलेको सम्पत्ति प्रकरणमा पनि ‘चक्रे मिलन’ मुछिएका छन् । बेलाबेला उनलाई प्रहरीले पक्राउ गरेर विभिन्न अपराधहरूका विषयमा सोधपुछ गर्दै आएको छ ।
प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिपको उद्घाटन भनेर राखिएको सो कार्यक्रममा ‘चक्रे मिलन’ र ‘विप्लव’ले ठूलो–ठूलो स्वरमा भाषण समेत गर्न भ्याए । दुबै जनाको भाषण सुनेका प्रत्यक्षदर्शीका अनुसार महासचिव ‘विप्लव’ र चक्रे मिलन खुसी देखिनथे । बेलाबेला मञ्चमा दुबैजनाले पटक पटक कानेखुसी समेत गरेका थिए ।
चक्रे मिलेन आयोजक रहेको सो च्याम्पियनसिपको उद्घाटनका लागि महासचिव ‘विप्लव’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको थियो ।
प्रमुख अतिथी ‘विप्लव’ पनि के कम चक्रे मिलन खुसी हुने गरेर बधाइ र शुभकामनाका शब्द वर्षाइ हाले । चक्रे मिलनले स्थापना गरेको ‘नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघ’ले एक वर्ष पनि पूरा गरेको छैन । यो संघको अध्यक्ष चक्रे मिलन आफै हुन् । बेलाबेला यही संघको नाममा उनले सामाजिक कार्य पनि गर्दै आएका छन् ।
स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय प्रतियोगिता गर्न सफल भएकोमा बधाई दिँदै महासचिव ‘विप्लव’ले छिटै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि पनि शुभकामना दिए । उनले भने, ‘तपाईहरू युवामा जोस जागर छ । त्यसैले पनि मलाई विश्वास छ एकदिनफेरि नेपाली खेलकुद दक्षिण एसियाकै पावरहाउस हुनेछ ।’
संघका अध्यक्ष चक्रे मिलनले पनि कार्यक्रममा जोडदार भाषण ठोका थिए । उनले भने, ‘आफ्नो लक्ष्यअनुरुप ७ महिनामै राष्ट्रिय
प्रतियोगिता गर्न सफल भयौँ । आगामी दुई वर्षभित्र दक्षिण एसियाली
च्याम्पियनसिप गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।’ चक्रे मिलनले प्रतियोगितामा सहभागी सबै खेलाडीका लागि तीन हजारको नगद भौचर उपलब्ध गराउने पनि बताए ।
केटिम सिटी ब्रान्डले खेलाडीका लागि तीन हजार बराबरको खेल सामाग्री प्रायोजन गर्न लागेका उनले बताए । उद्घाटनका अवसरमा संघका उपाध्यक्ष राजीव महर्जन, महासचिव प्रेमनाथ श्रेष्ठ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका महासचिव दीपक श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सर्बाधिक नगद राशीको प्रतियोगिता रहेको चक्रे मिलनले कार्यक्रममा दाबी गरेका थिए । प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
प्रतियोगितामा २२ जिल्लाका १ सय ७० खेलाडीले ६ तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको पुरुषतर्फ ३० केजीमुनि, ३५ केजीमुनि, ५० केजीमुनि, ६०केजीमुनि र ६० केजीभन्दामाथि तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन् ।
प्रत्येक तौल समूहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिने चक्रे मिलनले घोषणा गरेका छन् । पहिलोदेखि पाचौँ हुनेलाई क्रमश, २० हजार, १० हजार, ५ हजार, २ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव श्रेष्ठले जनाए ।












प्रतिक्रिया