काठमाडौं, २१ पुस । मन्त्री भएपछि पहिलोपटक स्वास्थ्यमन्त्री गगन थापा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पताल पुगेका छन् ।
उनी रक्षामन्त्री बालकृष्ण खाणसँगै अस्पतालको निरीक्षण भ्रमण छाउनी पुगेका हुन् । पहिलोपटक छाउनी आएका स्वास्थ्यमन्त्री थापालाई देख्दा प्रधानसेनापतिसहित सैनिक अधिकृतहरु हर्षित देखिन्थे ।
युवा नेता थापालाई सेलिब्रेटीकै रुपमा हेरिन्छ । छाउनीमा सैनिक अधिकृतले थापालाई भव्य स्वागत गरेका थिए ।
त्यसअवसरमा रक्षामन्त्री खाँडले भने भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको पनि निरीक्षण गरेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्थलगत निरीक्षणको क्रममा दुबै मन्त्रीले वीरेन्द्र अस्पताल तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको बस्तुस्थितिबारे सैनिक अधिकारीहरुसँग जानकारी लिएका थिए ।
यसअघि सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा. किशोर जंग राणाले स्वास्थ्यमन्त्री थापालाई अगाडि राखेर नेपाली सेनाले स्वास्थ्य सेवा सम्बन्धी गरिरहेको कार्यहरु तथा योगदानको बारेमा प्रस्तुतीकरण गरेका थिए । सँगै रक्षामन्त्री खाँड पनि थिए ।
त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक उपरथी डा. बच्चुराम केसी (अ.प्रा.) ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेपाली सेनाले गरिरहेको कार्यहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यस प्रकारको उच्चस्तरीय भ्रमणबाट नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यमा प्रोत्साहन मिल्न गई हौसलाको साथ कार्य गर्न थप ऊर्जा मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त भ्रमण दलमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको सहभागिता थियो ।













प्रतिक्रिया