– दलबहादुर मजाकोटी
लमजुङ, २१ पुस । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् ।
नयाँ शक्ति जिल्ला कार्यसमिति लमजुङले विहीबार बेसीशहरमा आयोजना गरेको ‘सम्वृद्धि संभव छ हाम्रै पालामा’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
उनले संविधान गतिशिल दस्तावेज भएकाले आवश्यकता अनुरुप संशोधन गर्न सकिने बताउँदै महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, विपन्न वर्गका खस आर्य लगायतका समुदाय, वर्ग र भूगोलको मागलाई सम्वोधन गरेर जानुपर्ने बताए ।
एमालेले अति राष्ट्रवादी भएको देखाउने र सरकारमा रहेका दलहरु सत्तामोहमा लहसिने गरेर निकास ननिस्कने भन्दै गतिरोध अन्त्यका लागि संविधान संशोधन गर्नै पर्नेमा भट्टराईले जोड दिए ।
राजनीतिक स्थायित्व नहुँदा देशले विकासको स्पष्ट बाटो समाउन नसकेकाले प्रत्यक्ष राष्ट्रपतिय निर्वाचन प्रणालीमा जानु पर्ने धारणा पनि उनले व्यक्त गरे । सो प्रणालीमा जाँदा सरकार बलियो हुने र राजनीतिक अवस्थामा पनि सुधार आउने उनको धारणा थियो । कार्यक्रममा बोल्दै उनले नयाँ शक्ति र नेकपा माओवादी केन्द्र विच एकीकरणको कुनै संभावना नरहेको पनि स्पष्ट पारे ।
सम्वृद्धिको नारालाई अभियानकै रुपमा अघि बढाउँदै विभिन्न जिल्लामा पुगेर सर्वसाधारण सँग सो विषयमा अन्तर संवाद गरेको स्पष्ट पार्दै लोकतन्त्र र राष्ट्रियताकै जगमा उभिएर सम्वृद्धिको खोजी गर्ने अभियानमा आफ्नो पार्टी लागेको पनि भट्टराईले बताए ।
कार्यक्रममा सहभागी सर्वसाधारण सँग अन्तर संवाद गर्दै उनले मुलुकको आर्थिक विकासका लागि खानेपानी, सडक, विजुली लगायतका संरचना निर्माण गर्नुपर्ने र राज्य स्वयंले त्यसको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।
पञ्चायत, नेपाली काँग्रेस, एमाले लगायतका पार्टीहरुको कार्यशैलीमा राष्ट्रको विकास नहुने भएकाले नयाँ शक्ति नेपालको जन्म भएको उनको धारणा थियो । चिन र भारतको विचमा रहेर सन्तुलित ढंगले उदार र विस्तारित अर्थतन्त्र तर्फ उन्मुख हुन सक्नुपर्ने पनि बताए ।
युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता कसरी न्युनीकरण गर्ने, छिमेकी मुलुकहरु सँगको परनिर्भरता कसरी घटाउने, जातिय विभेद, दुव्र्यवहार, लैंगिक हिंसा लगायतका समस्याहरुको न्युनीकरण कसरी गर्ने, राजनीतिक अस्तव्यस्तता कसरी सुल्झाउने जस्ता विषयमा कार्यक्रममा सहभागीहरुले सोधेका जिज्ञासामा डा.भट्टराईले आफ्ना भनाई व्यक्त गरेका थिए ।
नयाँ शक्तिका जिल्ला संयोजक राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्र पराजुली, गमबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया