– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), २० पुस । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा विहीबार पहिलो पटक कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।
अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियाका लागि एआईजी चन्द्रौटा आउन लाग्नुभएको हो । नेपाल प्रहरीका एक प्रमुख व्यक्तित्व आउने भएपछि अहिले वडा प्रहरी कार्यालयलाई एआईजीको स्वागतका लागि यतिबेला तयारी गर्न भ्याई नभ्याई छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा वडा प्रहरी कार्यालय परिसरमा सरसफाई, रङरोगन, साजसज्जा लगायतका काममा जुटेको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । यस्तै कार्यक्रमका लागि अघिल्लो दिन नै मञ्च निर्माण गरिसकिएको छ । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, उद्योगी व्यापारी, संघसंस्था, मानवअधिकारकर्मी, संचारकर्मी, सुरक्षा निकाय लगायतमा पत्रचार समेत गरिसकिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।
कार्यक्रममा नागरिकले प्रत्यक्ष एआईजीसँग अन्तरक्रिया गर्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । जिल्लामा गरिने कार्यक्रम भएपनि पूर्वपश्चिमको मुख्य केन्द्रविन्दु चन्द्रौटा पर्ने र शान्ति सुरक्षाका दृष्टिकोणले पनि चन्द्रौटा सम्बेदनशील क्षेत्र मानिने हुँदा पनि चन्द्रौटामा कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालयका प्रमुख भट्टराईले बताउनुभयो ।
बुटवल र कोहलपुरको घटनाबारे अनुसन्धान गर्न आउनुभएका एआईजी शर्मा विहीबार पश्चिमबाट फर्किने क्रममा साँझ ३ बजे चन्द्रौटाको कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । एआईजीसँगै चन्द्रौटामा सुरक्षा निकायका क्षेत्रीय, अञ्चलदेखि जिल्ला तहसम्मका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ ।












प्रतिक्रिया