लक्ष्मी काफ्ले
झापा, २६ भदौ । झापाको बिर्तामोडस्थित देवी उच्च माविले एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीको चारित्रिक प्रमाणपत्र वनाउने नाममा ठगि गरेको पाइएको छ ।
उक्त विद्यालयले चारित्रिक प्रमाणपत्र बनाउने नाममा प्रति विद्यार्थी दुई हजार रुपैयाँ लिने गरेको छ ।
विद्यालयले प्रमाणपत्र शुल्क दुई हजार लिएकोमा अभिभावक र जिल्ला शिक्षा कार्यालय झापाले समेत आपत्ति जनाएको छ ।
‘म छोरीको चारित्रिक प्रमाणपत्र लिन गएको थिएँ’, सोहि विद्यालयबाट भर्खरै एसएलसी उत्तीर्ण गरेकी छात्रा रेखा सेडाईका बाबु चन्द्र सेडाँईले भन्नुभयो, ‘के–का लागि यत्रो शुल्क लिनुभएको भन्दा मैले प्रस्ट जवाफ पाईन् ।’
देवी उच्च माविका प्रधानाध्यापक लेखनाथ भट्टराईसँग यस विषयमा जिज्ञासा राख्दा मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजन सर्टिफिकेटको दुई हजार लिएको जानकारी दिनुभयो ।
उहाँले बुधबारेको बुद्धआदर्श उच्च माविले ४ हजार र अनारमनीको एक विद्यालयले ३ हजार लिने गरेको खुलासा गर्नुभयो ।
प्रधानाध्यापक भट्टराईले देवी उच्च माविमै उच्च शिक्षा लिने हो भने पैसा नलिने तर, अन्यत्र पढाउने हो भने दुई हजार रुपैयाँ लाग्ने पनि जानकारी दिनुभयो ।
झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्टका अनुसार निजी विद्यालयले चारीत्रिक प्रमाणपत्रको बढीमा एक महिनाको शुल्क बराबर मात्र लिन पाउने प्रावधान छ ।
‘व्यवस्थापन समितिको निर्णय अनुसार एक/दूई सय लिन सकिन्छ’ उहाँले भन्नुभयो, ‘तर हजार/दुई हजार लिन पाईदैन ।’
उहाँले त्यस्तो रकम असुलेको हो भने छानविन गरी कारवाही गरिने जानकारी दिनुभयो ।
















प्रतिक्रिया