काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले पुस २२ गते पर्सी आयोजना गरिएको विशाल जनप्रदर्शन एवं आमसभाको तयारीमा छ ।
पार्टीका शीर्ष नेतादेखि भातृ संगठन र जिल्ला तहका नेता कार्यकर्ता यसैको तयारीमा लागेका छन् । तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ ।
यसैक्रममा भोलि पुस २१ गते विभिन्न कार्यक्रम हुँदैछन् । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमको अलग अलग पत्रकार सम्मेलन पनि राखिएको छ ।
पत्रकार सम्मेलनका लागि पार्टी सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले निमन्त्रणमा पनि पठाइसकेका छन् ।
निमन्त्रणमा विहान उपाध्यक्ष गौतम र दिउँसो अध्यक्ष ओलीको पत्रकार सम्मेलन राखिदा किन एकैदिन अलग अलग गरियो भन्ने प्रश्न उब्जिएको छ ।
यसको जवाफ दिँदै सचिव योगेश भट्टराई भन्छन्- ‘फरक फरक विषयवस्तु भएकाले अलग अलग समयमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । यो खास ठूलो कुरा होइन् ।’
उनका अनुसार विहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले स्वयम्सेवकहरुलाई विशेष निर्देशन दिनेछन् । र, दिउँसो १ बजे पार्टी मुख्यालयमै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीको सम्पूर्ण तयारीबारे जानकारी गराउनेछन् ।
भोलि नै दिउँसो ३ बजे भृकुटीमण्डपबाट १० हजार मोटरसाइकलसहित विशाल र्याली निकालिने कार्यक्रम छ ।













प्रतिक्रिया