४ मंसिर २०८३, शुक्रबार

सर्वोच्चको फैसलाले सहमतिका लागि प्रेरित गरेको छः प्रधानमन्त्री दाहाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्च अदालतको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताउनु भएको छ ।

बुधबार विहान रिपोर्टस् क्लब नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ । मैले सहमतिका लागि कोसिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिटै राजनीतिक सहमति जुट्छ ।’

संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो– ‘देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ । म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’

सरकार राजनीतिक मुद्दाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो- ‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्धा ओझेलमा पर्ने गरेका छन्, यसपटक मैले विकासका काममा जोड दिएको छु । विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडिरहेको छु । सोचेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ ।’

केही दिनमै निर्वाचनको मिति घोषणा हुने

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुन व्यवस्थापिका–संसद्मा टेबुल गर्ने प्रक्रियासँगै केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।

संशोधन प्रस्तावसम्बन्धी सर्वोच्च अदालतको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको र प्रमुख प्रतिपक्षी दल तथा मधेसी मोर्चासमेत सहमतिका लागि सकारात्मक बनेकाले सबै एकताबद्ध भएर सहमतिमा जाने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो ।