काठमाडौं, १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीसँग श्रीलङ्का र इजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार मन्त्री शाहीको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा दुबै देशका राजदूतले चासो दिएका छन् ।
श्रीलङ्काली राजदूत डब्लु स्वार्नलथा पेरेराले मन्त्री शाहीसँगको भेटमा नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष भएको भन्दै नेपाल श्रीलङ्काबीच सांस्कृतिक कूटनीति मजबुत रहेको बताएकी छन् । उनले दुई देशबीचको सम्बन्धको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरको राजनीतिक भ्रमणको अपेक्षा रहेको धारणा राखिन् ।
राजदूत पेरेराले प्रत्येक वर्ष ६० हजार श्रीलङ्काली नागरिकले नेपालको लुम्बिनी भ्रमण गर्ने गरेको र लुम्बिनीमा श्रीलङ्कन टेम्पल रहेको बताइन् । राजदूतले श्रीलङ्कामा नेपाली भिक्षुहरु जाने गरेको भन्दै यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ पार्न मद्धत पुग्ने बताईन् । उनले नेपालबाट श्रीलङ्कामा हुँदै आएको हवाई उडानमा बृद्धि गर्न पनि जोड दिइन् ।
मन्त्री शाहीले राजदूत पेरेरासँग नेपाल र श्रीलंकाको सम्बन्ध धार्मिक तथा संस्कृतिक रूपमा ऐतिहासिक र अतुलनीय रहेको बताए । लुम्बिनीमा पर्यटन प्रवर्द्धका लागि श्रीलंकाले गरेको सहयोगको प्रशंसा गर्दै मन्त्री शाहीले लुम्बिनी भ्रमणमा आउने श्रीलङ्काली पर्यटकलाई दोब्बर बनाउँन सहयोग गर्न समेत आग्रह गरे ।
श्रीलंकाले गरेको सहयोगको प्रशंसा गर्दै मन्त्री शाहीले लुम्बिनी भ्रमणमा आउने श्रीलङ्काली पर्यटकलाई दोब्बर बनाउँन सहयोग गर्न समेत आग्रह गरे ।
धार्मिक तथा सांस्कृतिक कूटनीतिलाई जोड दिदै मन्त्री शाहीले बुद्धको जन्म भूमि हेर्न पनि श्रीलङकन नागरिकहरू आउनु पर्नेमा जोड दिए ।
त्यस्तै मन्त्री शाहीसँग आजै इजरायलका राजदूत यारोन मेयरले पनि शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल इजरायलको कूटनीतिक सम्बन्ध , पर्यटन प्रवर्द्धन र नेपालको पर्यटन क्षेत्रको विकासको विषयमा कुराकानी भएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।
आर्थिक कूटनीतिको सशक्त माध्यमको रूपमा रहेको पर्यटनलाई प्रवर्द्धन गर्न आफूले विशेष जोड दिएको भन्दै मन्त्री शाहीले कूटनीतिज्ञहरूसँग आर्थिक तथा सांस्कृतिक कूटनीतिका माध्यमबाट मित्र राष्ट्रसंगको सम्बन्ध र पर्यटन प्रवर्द्धन , प्रचार, विकास , राष्ट्रको आर्थिक विकास तथा समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
















प्रतिक्रिया