४ मंसिर २०८३, शुक्रबार

प्रमुख प्रतिपक्षी एमालेले समय मागेपछि सभामुख पछि हटिन्, सूचना टाँस्न लगाइन्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । संविधान संशोधन प्रस्तावको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समय मागेपछि सभामुख ओनसरी घर्ती पछाडी हटेकी छन् । र, सूचना टाँस्न लगाएर संसद ६ दिनका लागि स्थगित गरेकी छन् ।

सभामुखको निर्देशनपछि संसद सचिवालयले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित गर्दै अर्काे बैठक २४ गते दिउँसो १ बजे बस्ने गरी सूचना टाँसेको छ ।

बैठक स्थगन गर्नुअघि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलले यही पुस २४ गतेसम्मका लागि समय मागेपछि सभामुख बैठक स्थगन गर्ने निर्णयमा पुगेको स्रोतले बतायो । ‘एमालेसहितका विपक्षी दलले पुस २२ गते काठमाडौंमा विशान जनप्रदर्शनको तयारी गरेको कारण पनि संसद बैठक लामो समयसम्म स्थगित गरिएको हो,’ संसद सचिवालय स्रोतले भन्यो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक ।

यता संसद सचिवालयले भने सहमतिका लागि दलहरुलाई समय दिइएको जनाएको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएका छन्,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने- ‘आजको बैठक अवरुद्ध पनि नहोस् र दलहरुबीच सहमति हुने विश्वासका साथ समय दिइएको हो ।’

मधेसकेन्द्रित दलले उठाएको माग सम्बोधन गर्न सरकारले गत मङ्सिर १४ गते संसद्मा संविधान सशोधनसम्बन्धी प्रस्ताव दर्ता गराएसँगै विपक्षी दलहरुले त्यसको विरोधमा निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

संविधान संशोधन लगायत विषयमा सर्वाेच्च अदालतबाट फैसला आएपछि प्रतिपक्ष दलले आगामी मार्ग तय गर्ने गरेको अनुरोधअनुसार बैठक केही दिनपछि धकेलिएको बताइएको छ ।

सर्वोेच्चको आदेशले सत्तापक्ष संकटमा

यसैबीच सर्वोच्च अदालतको आदेशपछि सरकारलाई संविधान संशोधन प्रस्ताव अघि बढाउन अप्ठेरो परेको छ । प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपनि प्रस्ताव टेबुल गर्ने तयारीमा रहेको सत्तापक्ष संशोधन प्रस्तावमा उल्लेखित प्रदेशको सीमाङकन प्रदेशसभाको अनुमति विना सम्भव नरहेको फैसला आएपछि अप्ठेरोमा परेको हो ।