३ कार्तिक २०८३, मंगलबार

तुलसीपुर विमानस्थल निरीक्षण गर्न मन्त्रीसहितको उच्चस्तरीय टोली जाँदै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १८ पुस । दाङको तुलसीपुर विमानस्थलको वस्तुस्थिती बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीसहितको उच्चस्तरीय टोली दाङ जाने भएको छ ।

आउने बुधबारका मन्त्री शाहीका साथै दाङ क्षेत्र नम्बर तीनका सांसद राजु खनाल, नागरिक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक सञ्जीव गौतम, निर्देशक टेकराज पोखरेल, निर्देशक भोछिभोयासहितको उच्चस्तरीय टोलीले शुक्रबार तुलसीपुर विमानस्थलको स्थलगत निरीक्षण गरेर नियमित उडानका लागि पहल गर्नेछ ।

तुलसीपुर विमानस्थलको स्तरउन्नती भएपनि विभिन्न प्राविधिक कारणले गर्दा नियमित उडान हुन सकेको छैन । नियमित उडान हुन नसक्दा विमानस्थल खण्डहरमा परिणत हुँदै गएको छ ।

विमानस्थललाई नियमित सुचारु गराउन तुलसीपुर उद्योग वाणिज्य संघले पहल गरे पनि त्यसले ठोस रुप लिन सकेको छैन । विमानस्थललाई नियमित रुपमा चलाउनका लागि दबाब दिने उद्देश्यले दाङ क्षेत्र नम्बर दुईका निर्वाचित सांसद खनालले आफ्नो पहलमा नागरिक उडड्यनमन्त्री शाहीसहितको उच्चस्तरीय टोलीलाई तुलसीपुर लैजान लागेका हुन् ।

तुलसीपुर विमानस्थललाई आवश्यक नियमित उडानका लागि भौतिक पूर्वाधार तयार हुन नसके विमानस्थललाई नारायणपुर नजिकै खाली रहेको ३० विघा जग्गामा सार्ने विषयमा पनि तयारी भएको उच्च स्रोतले जनाएको छ ।

‘तुलसीपुर विमानस्थलको स्तरवृद्धिमा केही कठिनाइ देखिएको छ । स्थानीयले सहयोग पनि गरेका छन्’, प्राधिकरण उच्च स्रोतले भन्यो, ‘तुलसीपुरमा केही अरु पनि समस्या भएकाले विमानस्थललाई अर्को उपयुक्त स्थानमा पनि सार्न सकिन्छ । सो विषयमा पनि अध्ययन भइरहेको छ ।’

काठमाडौंबाट दाङ जान थालेको उच्चस्तरीय टोलीले विमानस्थल बनाउने तयारीको सुरुवात गरिएको भनिएको नारायणपुरको खाली रहेको ३० विघा जग्गाको पनि स्थलगत निरीक्षण गर्ने स्रोतको दाबी छ ।

विमानस्थलको जग्गा हेर्न काठमाडौंबाट बुधबार जाने उच्चस्तरीय निरीक्षण टोली सो दिन भैरहवा बस्नेछ । बिहीबार घोराहीमा उच्चस्तरीय टोली जाने भएपछि नारायणपुरमा धमाधम तयारी थालिएको स्रोतको भनाइ छ । टोलीले दाङमा बिहीबार र शुक्रबार आफ्नो स्थलगत अध्ययन गर्ने सांसद खनालले बताए ।

उच्चस्तरीय टोलीसँग दाङ आउँदै गरेका सांसद राजु खनालले अहिले नै नयाँ बनाउन उपयुक्त नरहेको भन्दै तुलसीपुरकै विमानस्थललाई स्तरउन्नती गरेर छिटोभन्दा छिटो सुचारु गर्नुपर्ने बताए । ‘पहिला तुलसीपुरलाई प्राथमिकता दिनुपर्छ । तयारी अवस्थामा रहेको विमानस्थललाई सुचारु गराउँदा छिटो सेवा पाउन सकिन्छ’, सांसद खनालले भने, ‘कुनै उपाय लागेन भने मात्रै अर्को विकल्प खोज्ने हो । नारायणपुरमा पनि विमानस्थल बनाउन नसकिने भने होइन । बनाउन सकिन्छ । पर्याप्त जग्गा पनि छ । नागरिक उडड्यन प्राधिकरले केही प्राविधिक समस्या देखाएको रहेछ । मैले हुँदैन भनेको छु ।’

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले तुलसीपुर विमानस्थल सञ्चालनका लागि पहिला जग्गा अधिग्रहणमा देखिएको समस्या मिल्नुपर्ने र रनवे बढाउनुको विकल्प नरहेको बताए । ‘पहिला विमानस्थललाई भएको समस्या हटाउनु पर्छ । स्थानीय राजनीतिक दल र उद्योग वाणिज्य संघबाट सहयोग पनि भएको छ । तर हाम्रो तर्फबाट केही प्राविधिक समस्या देखेका छौँ । स्थानीयसँग सल्लाह गरेर हल गर्ने प्रयासमा छौँ ।’

तुलसीपुर विमानस्थलमा जग्गा अधिकग्रहणका साथै नजिकै बनेको पानी ट्यांकीले पनि उडानमा समस्या परेको प्राधिकरणको भनाइ छ । ‘अहिले तुलसीपुर विमानस्थलको रनवे साढे सात सय मिटर मात्रै हो’, नागरिक उडड्यन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोयाले भने, ‘४२ देखि ७२ सिटको विमान चलाउन कम्तिमा १५ सय मिटरको रनवे आवश्यक पर्छ ।’