काठमाडौं, १८ पुस । राप्रपार्टीले पोखरा, गोरखा, झापा, भक्तपुर, सिन्धुपाल्चोक, महेन्द्रनगरमा आयोजना गरेको जनसभाहरुमा विशाल जनमानसको उपस्थिति र समर्थन रहेको सहप्रवक्ता किरण गिरीले बताएका छन् ।
यीसबै स्थानमा राप्रपाले सो क्षेत्रस्तरीय वैठक सम्पन्न गरी स्थानीय तहमा एकीकरणपछि पार्टी मेलमिलापको अवस्था र स्थितिको बारेमा जानकारी लिने काम गरेको उनले बताए ।
यी सबै कार्यक्रमहरुमा पार्टी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति सम्शेर जवरा र वरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनीले मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यक्रम र दृष्टिकोणका बारेमा आफ्नो धारणा र दृष्टिकोणहरु प्रस्तुत गरेको उनले बताए ।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको यो स्थितिलाई विश्लेषण गर्दा मुलुकको सशक्त बैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बन्ने सहजै देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ६, ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न हुने उसको महाधिवेशन र आगामी निर्वाचनहरुको तयारीको लागि संगठनलाई चुस्त, दुरुस्त र मजबुत बनाउनु जरुरी देखिन्छ ।’
‘यो कार्यको लागि राप्रपाका नेताहरु आम पार्टी कार्यकर्ताहरु राष्ट्रियता, प्रजातन्त्र र जनसरोकारका विषयहरुमा दरो र खरो उत्रनु जरुरी छ । यति बेला राप्रपाले मुलुकमा देखा परेको संवैधानिक र राजनीतिक समस्याहरु प्रति पनि चनाखो र सचेत भएर अगाडी बढ्नु जरुरी छ । ईतिहास र अनुभवले खारिएका राप्रपाका नेता, कार्यकर्ताहरुमा यो क्षमता अगाडी बढाउन सक्ने हैसियत रहेको अनुमान गर्न सकिन्छ’, उनले भनेका छन् ।
‘विगतका कमी कमजोरी, त्रुटीहरुबाट पाठ सिक्दै अगाडी बढ्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली जनताको भरपर्दो र विश्वासिलो आधार बन्न सक्दछ’, उनले भनेका छन्, ‘एकता पछि पार्टीले मुलुकको पाँचै विकास क्षेत्रमा सम्पन्न गरेको पार्टी बैठकहरु र जनसभाहरुमा देखा परेको जनलहर र समर्थनलाई राप्रपाका नेताहरुले बचाएर राखिरहनु पर्ने आवश्यकता भने देखिन्छ ।’












प्रतिक्रिया