काठमाडौं, १७ पुस । स्वर सम्राट रोधि क्लबले समाज रुपान्तरण र देशको विकासको लागि आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार ऋषि धमला, गायक यम बराल र सांसद महेन्द्र बहादुर शाहीलाई सम्मान गरेको छ ।
अँग्रेजी नयाँ वर्षको उपलक्ष्यमा क्लबका अध्यक्ष नविन बुढाथोकीको सभापतित्वमा आईतबार आयोजित कार्यक्रममा पत्रकार धमला लगायत उनीहरुलाई सम्मान गरेको हो ।
अभिनन्दित भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले भने, ‘अब नयाँ वर्षले नयाँ सन्देश प्रवाह गर्नुपर्छ, अब सबै खाले विगतका तितामिठा कुराहरु बिर्सिएर अघि बढ्नुपर्छ, संविधान संशोधन र कार्यान्वयनको लागि शीर्ष नेताहरुले वातारण बनाउनुपर्छ ।’ उनले संविधान संशोधन गरेर मुलुकलाई निर्वाचनको बाटोमा अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
त्यस्तै धमलाले सामाजिक–साँस्कृतिक क्षेत्रमा पनि आफ्नो तर्फबाट आगामी दिनमा निरन्तर सहयोग गर्ने वचन दिए। उनले प्रमुख दलहरुवीच अहिले सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्दै भने, ‘०६२।६३ सालको दोस्रो जनआन्दोलन जसरी दलहरु फेरि एकतावद्ध हुनुपर्छ। मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका सांसद शाहीले पनि आफ्नो भनाई राखेका थिए । उनले दलहरुवीच छिट्टै राजनीतिक सहमति हुने विश्वास व्यक्त गरे ।
शाहीले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक र निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दुवै पारित हुने दाबी गरे ।
कार्यक्रममा गायक बरालले पनि आफ्नो भनाई राखेका थिए । उनले मुलुकको आर्थिक विकासको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्याउनुपर्ने बताए ।













प्रतिक्रिया