४ मंसिर २०८३, शुक्रबार

सत्तारुढ दलहरू एकढिक्का हुने निर्णय, एमालेले नमानेपनि संशोधन प्रस्ताव टेबुल गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकसाताभित्र संविधान संशोधनको प्रस्तावलाई संसदमा टेबुल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकले सत्तारुढ दलहरू एकठाउँमा बसेर संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरागर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले एकसताभित्र संविधान संशोधनको प्रस्तावलाई संसदमा टेबुल गर्ने सहमति भएको बताए । ‘संविधान संशोधन प्रस्ताव र तीन तहको निर्वाचन सँगसँगै अगाडि बढ्छ’, उनले भने, ‘संशोधन प्रस्तावलाई अगाडि बढाउन सत्तारुढ र सरकारलाई समर्थन गर्ने दलहरू एक हुने निर्णय भएको छ ।

त्यसो भए अब सत्तारुढ दलहरूले प्रमुख विपक्षी एमालेसहितका दलहरूलाई पेलेर जानु हुन्छ ? भन्ने प्रश्नको जिज्ञासामा सल्लाहकार खनालले भने, ‘प्रधानमन्त्रीज्यूले सबै दलहरूसँग सल्लाह र छलफल गर्छु भन्नुभएको छ । एमालेलाई पनि सहमतिमा ल्याउने बल गर्ने हो । आउने नआउने भनेको उसको पोजिशन हो ।’

सल्लाहकार खनालले संविधान संशोधनसँग स्थानी, संसद र प्रदेशको चुनाव गर्ने सहमति पनि भएको बताए । ‘संशोधन प्रस्ताव पारित भएपछि तीन तहको चुनाव गर्ने सहमति भएको छ’, उनले भने, ‘चुनाव कसरी अगाडि बढ्ने भन्ने विषयमा पछि टुङ्गो लगाइन्छ ।’

सद्भावना पार्टीका सहअध्यक्ष एवम् मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण संशोधन प्रस्ताव संसदनमा टेबुल गर्न प्रधानमन्त्री तयार भएको बताए । ‘प्रधानमन्त्रीसँगको वार्ताबाट हामी झन् उत्साहित भएका छौँ’, उनले भने, ‘कांग्रेससँग वार्ता गर्दा उत्साहित भएका थियौँ । आज प्रधानमन्त्रीसँग झन् राम्रो कुराकानी भएको छ ।’

तपाईहरू अब चुनावमा जानु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भने, ‘हामीले कहिले चुनावमा नजाने भनेर भनेका छौँ र ? संविधान संशोधन भयो भने तीनवटै चुनाव गर्ने हो । मधेसी मोर्चा चुनावका लागि तयार छ ।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्रीसँगको वार्ताबाट मधेसी मोर्चा झन् आशावादी देखिएको बताए ।

‘आजको कुराकानी अत्यन्तै सकारात्मक लाग्यो’, उनले भने, ‘प्रधानमन्त्रीले बोलेका कुरा कार्यान्वयनमा गयो भने मधेसी मोर्चालाई राम्रो हुन्छ ।’

बालुवाटारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, हृदयश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनीषकुमार सुमन, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, रामनरेश राय, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अनिलकुमार झालगायतका नेताहरूको सहभागिता रहेको थियो ।