१९ कार्तिक २०८३, बिहिबार

दलहरुवीच प्याकेजमै सहमति हुन्छः कानूनमन्त्री नायक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले प्रमुख दलहरुवीच संविधान संशोधन प्रस्ताव, निर्वाचन र महाअभियोगको प्रस्तावबारे प्याकेजमै सहमति हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो खुलासा गरेका हुन्। ‘यही हप्ताभित्रै अवरुद्ध संसद सूचारु हुन्छ, संविधान संशोधन प्रस्ताव अब प्रक्रियामा जान्छ, दलहरुवीच प्याकेजमै सहमति हुन्छ’,उनले भने।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकार दलहरुवीच सहमति कायम गरेर नै अघि बढ्न चाहेको स्पष्ट पारे। उनले भने,‘सरकार पेलेरै जाने मनशायमा छैन, हामी सबै दलहरुलाई सहमति र विश्वासमा लिएर अघि बढ्न चाहन्छौं, तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेपनि राष्ट्रिय पार्टीको भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले सरकारले संविधान संशोधन प्रस्ताव ल्याउने वित्तिकै प्रतिपक्षी दल एमाले यसको विरुद्धमा आक्रमक रुपमा प्रस्तुत भएको उल्लेख गर्दै भने, ‘एमालेले संशोधन प्रस्तावको विरुद्धमा आक्रमक अभिव्यक्ति दिएको थियो, मधेशी मोर्चाका साथीहरुले पनि उत्तजेति भएर धारणा राखेका थिए, तर अहिले आएर वर्तमान धरातल र यर्थातलाई उहाँहरुले आत्मसात् गर्नुभएको छ, सुरुका दिनमा दुईवटा अति देखिएका थिए ।’

उनले पछिल्लो समय गलत ढंगले राष्ट्रियताको विषयमा व्याख्या भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘राष्ट्रियताको विषयलाई तानातानाको विषय जो अहिले बनाईएको छ, यो कसैलाई सुहाएको छैन्।’ उनले संविधान कार्यान्वयन भैरहेको समेत स्पष्ट पारे। मन्त्री नायकले अघि भने,‘संविधान कार्यान्वयन भैरहेको छ नि, यसको अभ्यास गरिरहेका छौं, अब निर्वाचन गर्नुपर्छ, स्थानीय तहको निर्वाचन हुन्छ।’ उनले संविधानको कार्यान्वयनको लागि निर्वाचन अनिवार्य आवश्यकत्ता रहेको बताउँदै सरकार निर्वाचनको वातावरण बनाउन गम्भिर रुपमा लागिपरेकोसमेत जनाए।

एमालेले संशोधन प्रस्ताव असंवैधानिक भएको भनेर लगाएको आरोपको खण्डन गर्दै मन्त्री नायकले भने, ‘यी सबै गलत कुराहरु हुन्, एमालेको यो तर्कमा कुनै दम छैन्।’ एमालेले भाँडभैलो र अराजकता ल्याउने काम गरिरहेको समेत उनको आरोप थियो। उनले जारी राजनीतिक गत्यावरोध हटाउनको लागि मिडियाले पनि सशक्त भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए। उनले अघि भने,‘दुई÷चार, पाँच दिन मिडियामा यस्तै खाले बहस भयो भने, सहमतिको वातावरण बन्छ।’

मन्त्री नायकले मुलुक अब निर्वाचनमा जाने बताउँदै भने, ‘ढुक्क हुनुहोस्, अब मुलुक निर्वाचनमा जान्छ, एमालेले अब उदारता देखाउनुपर्छ, सदनपनि चल्छ।’

सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् सांसद मिन विश्वकर्माले संविधान संशोधन प्रस्ताव पारित हुने र मुलुक निर्वाचनमा जाने ठोकुवा गरेका छन्।

उनले संविधान कार्यान्वयन गर्नकै लागि पनि संविधान संशोधन अनिवार्य रहेको बताउँदै भने,‘संविधान संशोधन भनेको नै कार्यान्वयन हो, चुनावपनि संविधान कार्यान्वयनको लागि हो, अहिले संविधान कार्यान्वयन भैरहेको छ, हिजो केपी ओलीजी प्रधानमन्त्री बन्नुभयो, यही संविधान बमोजिम त्यो पनि त संविधान कार्यान्वयन नै हो नि, फेरि उहाँको सरकार फेरबेदल भयो, त्यो पनि त संविधान कार्यान्वयन नै हो।’

नेता विश्वकर्माले पछिल्लो समय देश टुक्र्याउन लागियो भनेर ठूलो हल्ला फिँजाईएको उल्लेख गर्दै भने,‘कसैलेपनि देश टुक्र्याउने कुरा गरेको छैन, नेपाली काँग्रेस राष्ट्रियताको पक्षमा खरो उत्रिएको ईतिहास भएको पार्टी हो।’

उनले संशोधन प्रस्ताव संसदको कार्यसूचिमा प्रवेश गरिसकेकोले प्रस्ताव टेबुल भैसकेको समेत दाबी गरे। विश्वकर्माले थपे,‘संशोधन प्रस्ताव संसदको कार्यसूचिमा प्रवेश भैसकेको छ, खाली यो प्रस्तावमाथि छलफल हुन सकेको छैन, प्रस्ताव पारित हुन्छ कि भन्ने एमालेलाई डर छ, किनकी यो प्रस्तावको पक्षमा एमालेका मधेशी सांसदहरुले सहयोग गर्ने एमालेले बुझेको छ, त्यसैले यो प्रस्ताव पारित भयो भने आफ्नै सांसद पनि नरहने अनि जनतामा पनि नराम्रो हुने डर एमालेमा छ।’

उनले अब काट्ने थलो छोडेर गन्ने थलोमा आउन समेत एमालेलाई आग्रह गरे।‘राजनीतिक समस्याको निकास दिने थलो भनेको नै संसद हो, उनले भने। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेश गठन गर्दा आफूहरुले गम्भिर त्रुटि गरेको भनेर हालै सार्वजनिक अभिव्यक्ति दिएको विषयलाई टिप्पणी गर्दै नेता विश्वकर्माले भने,‘उहाँहरु अहिले गल्ती भयो भन्न थाल्नुभएको छ, भोलि संशोधन प्रस्ताव पारित भयो भने चुनावी सभामा हामीले गल्ती गरेकै हौं भनेर भन्नुहुन्छ, अहिले हामी सच्चियौं भन्नुहुन्छ, हेर्दै जानुहोला।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित भएकोले यो प्रस्ताव संसदमा छलफल नै गर्न लायकको नभएको टिप्प्णी गरे।

सरकारले संविधान संशोधन प्रस्तावमा उल्लेख गरेका विषयहरु राष्ट्रको हितमा नभएकै कारण आफ्नो पार्टीले यसको विरोध गरिरहेको स्पष्ट पार्दै नेता महासेठले भने,‘वर्तमान सरकारले अघि सारेको प्रदेशको सिमांकनको संशोधन प्रस्ताव कुनै हालतमा राष्ट्रको हितमा छैन, यो त मदारीले बाँदर नाँच देखाएकोजस्तो हो, नाँच्ने बाँदरलाई केही थाहा हुँदैन्।’

उनले नागरिकताको सवालमा अंगीकृत नागरिकताको विषय संशोधन प्रस्तावमा उठाईएको कुरामा आफूहरु कुनै हालतमा सहमत हुन नसक्ने समेत ठोकुवा गरे। महासेठले भने,‘स्वयम मधेशी मोर्चाले उठाएका कुन चाहीँ माँग यो संशोधन प्रस्तावले पूरा गर्छ, मलाई देखाउनुहोस् त ?, अंगीकृत नागरिकतालाई अब कडा भन्दा कडा बनाईनुपर्छ, मधेशमा जन्मसिद्ध नागरिकता लिनलाई समस्या छ, तीनीहरुको भविष्यको बारेमा कुनै चिन्ता छैन, अनि अंगीकृतलाई नागरिकता दिने कुरा किन गरियो ?’

उनले एमाले कुनै हालतमा मधेशविरोधी पार्टी नभएको समेत जिकिर गरे। उनले अघि थपे ‘एमाले कसरी मधेश विरोधी पार्टी भयो ? केपी ओली प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको लागि साँढे चार अर्ब बजेट निकासा भयो, बृद्ध भत्ता दोब्बर भयो, यो मधेशविरोधी काम हो र ? म प्रश्न गर्न चाहन्छु।’

उनले सरकारले अघि सारेको संशोधन प्रस्तावको पक्षमा कतैपनि आवाज उठेको दाबी गर्दै भने,‘बरु यो संशोधन प्रस्तावको विरुद्धमा ७५ वटै जिल्लामा आन्दोलन भएको छ।’

उनले मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित नभए कुनै पनि निर्वाचन हुन नदिने भनेर आज गरेको निर्णय मधेशी मोर्चाको निर्णय नभएको समेत ठोकुवा गरे। महासेठले अघि थपे,‘यो उहाँहरुको निर्णय होईन, यो ईम्पोर्टेड निर्णय हो, किनकी यो संशोधन प्रस्तावमा मधेशी मोर्चाका साथीहरुको कुनै पनि माग समावेश छैन।’

नेता महासेठले मधेशी मोर्चालाई आफ्ना कार्यकर्ता र पार्टीमा पनि स्वय विश्वास नभएको आरोप लगाए। उनले अघि थपे, ‘उहाँहरुलाई स्वयम आफ्नो पार्टी र कार्यकतासँग विश्वास छैन, चुनावमा के हुने हो भनेर ।’

वर्तमान सरकारका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिप्रति कडा रुपमा प्रस्तुत भएका नेता महासेठले भने, ‘गृहप्रशासन अहिले निधिकरण भैरहेको छ, काँग्रेसीकरण भए त बेग्लै कुरा, निधिकरण भएको छ, पूरा देशमा तरस्करी र भ्रष्टाचार बढेको छ, सरकारका जुन मन्त्रीले काम विगारेपनि त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ, आज बोर्डर खुल्ला छ, तर पुलिसको अत्तापत्तो छैन, कोही पुलिसका हाकिमहरु गृहमन्त्रालय वरिपरि घुमिरहेका छन्, कोही चुप लागेर बसेका छन् ।’

उनले प्रमुख दलहरु काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव गर्ने हो भने कसैको विरोधले केही अर्थ नराख्ने जिकिर गरे। महासेठले भने, ‘यी तीन दल मिलेर चुनावमा होमिने हो भने देशमा चुनाव हुन्छ।’ उनले तराई, पहाड र हिमाल कसैको दाईजो नभएको समेत बताए ।

सभामुखले त तीन दिनको अल्टिमेट दिनुभएको छ, त्यो तीन दिनभित्रपनि सहमति नभए आफू प्रक्रियामा अघि बढ्ने भन्नुभएको छ नि, अब एमालेले के गर्छ भनेर सोधेको पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँको भनाईलाई हामीले अल्टिमेटको रुपमा बुझेका छैनौं, यो संभव छैन, १०/१२ जनाले त संसद चल्न नदिएको ईतिहास छ, झ्न नेकपा एमाले…….त्यसैले सभामुख सुझबुझ भएको हुनुहुन्छ, उहाँ त झनै जनयुद्ध लडेर आएको व्यक्ति हो ।’

मधेशी मोर्चाका नेता मनिष सुमनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए कुनैपनि निर्वाचन हुन नदिने मोर्चाले निर्णय गरिसकेको बताए। उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश विरोधी कार्य गरिरहेको समेत आरोप लगाए।

उनले हिजो एमालेले आँफै हस्ताक्षर गरेको प्रस्तावको आज विरोध गर्नुको कुनै तुक नभएको उल्लेख गर्दै भने, ‘हिजो आँफैले ओलीले हस्ताक्षर गरेको प्रस्ताव आज विरोध गर्नुको कुनै तुक छैन, हुन त उहाँहरुको सडक आन्दोलन तुहिसकेको छ, अब हेरौं सदन के हुन्छ ?’ आफूहरु संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भए चुनावको जाने तयारीमा रहेको समेत उनले जानकारी दिए।

उनले संविधान संशोधन नगरीकन चुनाव गर्नुको कुनै अर्थ नहुने भन्दै त्यसो भयो भने मोर्चाले चुनाव हुन नदिने निर्णय गरेको समेत बताए। त्यस्तै उनले यही पुष १८ गते मोर्चाले देशव्यापी रुपमा सदरमुकाममा विरोध सभा समेत जनाए।