काठमाडौं, १५ पुस । राजधानीको नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी गरिएको छ ।
रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीको हत्या प्रयासको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल जुलुस निकालेको बेला शुक्रबार दिउँसो बुद्धनगर क्षेत्रमा सरकारी गाडीमा आगजनी र तोडफोड भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार हत्याको विरोधमा निकालिएको जुलुसको आक्रोशित भिडले बाग्मती सभ्यता आयोजनाको बा २ झ १३९२ नम्बरको स्कर्पियोमा आगजनी गरेको थियो ।

‘गाडी हाम्रो जलाउने नीति होइन्’, युवा संघका सचिव माधव बास्तोलाले भने– ‘विरोध सभा भइरहेका बेला आक्रोशित युवाहरुले जलाए ।’ आगजनीमा युथ फ़ोर्सका युवाहरू संलग्न थिए ।
दिउँसै सरकारी गाडी जलाएपछि विभिन्न अड्कलबाजी गरिएको थियो । तर, युवा संघले घटनाको औपचारिक रुपमै जिम्मेवारी लिएको छैन् ।
यसैगरी अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ ।
यसैगरी, अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने सार्बजनिक बिदाको दिन सरकारी गाडीको दुरूपयोग गरेका कारण जलाएको आशय ब्यक्त गरेका छन् । उनले आफूहरूको धैर्यताको बाँध टुटेको भन्दै बुटवल र कोहलपुर घटनाको दोषीलाई कारबाही गर्न माग गरेका छन् ।














प्रतिक्रिया