५ मंसिर २०८३, शनिबार

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताएका छन् ।

नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्बोधन गरेका बस्नेतले वर्तमान सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध पार्टीले आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

उनले आन्दोलन घोषणा भएपछि नेसनल भोलिन्टियर फोर्ससहित एमालेका युवा सङ्गठनहरू अग्रपङ्क्तिमा उत्रिने दाबी गरे ।

‘जब आन्दोलन घोषणा हुनेछ, हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको मुखबाट आन्दोलन भनेर घोषणा भएको दिन यो युवा पङ्क्तिले देश कब्जा गर्नेछ र बालेनलाई सिंहदरबारबाट घिसारेर माइतीघर मण्डलामा ल्याउनेछ,’ बस्नेतले भने ।

उनले २०८२ भदौ २३ र २४ गते भएको घटनालाई विदेशी शक्तिको षड्यन्त्रको संज्ञा दिँदै त्यसमा बालेन, सुदन लगायतका व्यक्तिहरूको भूमिका रहेको आरोप लगाए । विदेशी संस्थाहरूको प्रयोग र आर्थिक परिचालनमार्फत मुलुकका सरकारी संरचना, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, उद्योग तथा नेताहरूका निजी निवासमा आक्रमण गरिएको उनको दाबी थियो ।

बस्नेतले उक्त घटनामा नेकपा (एमाले) र पार्टी अध्यक्ष ओलीलाई मुख्य निशाना बनाइएको बताए ।

बस्नेतले अध्यक्ष ओलीको नेतृत्व र राजनीतिक भूमिकाको बचाउ गर्दै नेपालको राष्ट्रियता र विकासका मुद्दामा उनले महत्त्वपूर्ण योगदान गरेको बताए ।

नाकाबन्दीका बेला लिएको अडान, चुच्चे नक्सा जारी गर्ने पहल, उत्तर–दक्षिण नाका विस्तारको अवधारणा, रेलमार्ग तथा जलमार्गको योजना, सडक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन र सामाजिक सुरक्षा कार्यक्रमलाई उनले ओली नेतृत्वका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।

‘केपी ओलीबिनाको नेपाल बनाउन खोजियो, केपी ओलीबिनाको एमाले बनाउन खोजियो, केपी ओलीबिनाको युवा बनाउन खोजियो, यो सम्भव छैन,’ उनले भने ।

ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उल्लेख गर्दै बस्नेतले पार्टीभित्र नेतृत्वको विषयमा भ्रम फैलाउने प्रयास सफल नहुने दाबी गरे ।

बस्नेतले वर्तमान सरकारलाई विभिन्न विषयमा असफल भएको आरोप लगाउँदै सुकुम्बासी, बाढीपीडित र वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्न नसकेको बताए ।

उनले सरकारका गतिविधि र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘हिजो सुकुम्बासीहरूलाई झुटो आश्वासन दिएको बालेन सरकार, आज सुकुम्बासीहरू सडकमा भनिरहेका छन्– बालेन सरकार, हामीलाई बास दे ।’

त्यस्तै, बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भए पनि पीडितले आवश्यक राहत नपाएको भन्दै उनले सरकारको आलोचना गरे । बस्नेतले सरकारका निकट व्यक्तिहरूमाथि भ्रष्टाचार र सेटिङको आरोप समेत लगाए ।