– विमल योगी
काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधनको प्रस्तावलाई सहमतिको आधारमा परिमार्जन गरी पारित नगरिएसम्म कुनै पनि तहको निर्वाचन मान्य नहुने चेतावनी दिएको छ ।
एमालेले संविधान संशोधन रोक्न अलोकतान्त्रिक र संसदीय अभ्यास गरिरहेको भन्दै मधेसी मोर्चाले यस्ता असंसदीय क्रियाकलापको घोर भत्र्सना गरेको जनाएको छ ।
काठमाडौंमा दुई दिन बसेको मधेसी मोर्चाको बैठकपछि शुक्रबार तमलोपाको पार्टी मुख्यालय बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधनको प्रस्तावलाई पारित गर्न माग गरिएको हो ।
‘संविधान संशोधन नगरी कुनै पनि तहको निर्वाचनले द्वन्द्व मात्र बढाउने र विद्यमान समस्याको समाधान नहुने हुनाले संविधान संशोधनको निमित्त संसद सचिवालयमा दर्ता गरिएको प्रस्तावमा सहमतिको आधारमा परिमार्जन गरी पारित नगरिसम्म कुनै पनि तहको निर्वाचन मधेसी मोर्चालाई मान्य हुने छैन’, विज्ञप्तिमा भनिएको छ ।
मधेसी मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोगले समान जनसंख्याको आधारलाई बेवास्ता गर्दै, जनसहभागिता बिना र स्वयं नेपालको संविधानको धारा ५६ को (४) र (५) तथा धारा २९५ को (३) द्वारा गाउँपालिका, नगरपालिका संरक्षित प्रतिवेदन तयार गरेकोले यस्तो अपूर्ण प्रतिवेदनलाई पनि अस्वीकार गर्ने निर्णय गरेको जनाएको छ ।
एमालेले संविधान संशोधन रोक्न अलोकतान्त्रिक र संसदीय अभ्यास गरिरहेको भन्दै मधेसी मोर्चाले यस्ता असंसदीय क्रियाकलापको घोर भत्र्सना गरेको जनाएको छ ।
संशोधन प्रस्तावलाई पारिमार्जनसहित पारित गर्न जनदबाब सृजना गर्नका लागि मधेसी मोर्चाले पुस १८ गते सोमबारका दिन १ बजे तराईका सबै जिल्ला सदरमुकामहरूमा खबरदारी विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया