काठमाडौँ, १४ पुस । भिजिट भिषामा रोजगारीको लागि भन्दै चाईना पठाई अलपत्र पारी लाखौं ठगी गर्ने जम्प टु जम्प कन्सल्टेन्सी शान्तीनगर नयाँबानेश्वरका संचालक काठमाडौँ पुरानो बानेश्वर बस्ने झापा, सतासीधाम–७ दुधेका ४३ बर्षीय गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
शिवाकोटीले अछाम, नन्देगडा–८ बस्ने नवराज साउद लगायत अन्य ३ जनालाई चाइनाको कपडा कम्पनीमा कपडा प्याकिङ गर्ने काममा आकर्षक तलब छ भनि प्रलोभनमा पारी नवराज साउदबाट ९ लाख ८ हजार र भोजपुर दोभाने–४ का राजु भारती, मोरङ हालीमुडा–६ का अर्जुन गिरी र धादिङ बसेरी–५ का सन्तोष ढकाल समेतबाट १४ लाख ६० हजार र अलपत्र परेका ३ जना पीडित नेपाल आउन लाग्ने हवाई टिकट ३ लाख ५० हजार रुपैयाँ समेत गरी जम्मा २७ लाख १८ हजार रुपैयाँ लिई ३ महिने भिजिट भिषा लगाई चाईना पठाएका थिए ।
चाईना पुगेपश्चात साउद लगायत अन्य ३ जनाले नेपालमा भएको सम्झौता बमोजिमको काम र वर्किङ भिषा नपाएको र भिजिट भिषा पनि समाप्त भई चाईना प्रहरीले पक्राउ गरी थुनामा राखेपछि पीडितका आफन्तहरु महानगरीय अपराध महाशाखामा आई जानकारी गराए पश्चात महाशाखाको विशेष पहलमा २२ दिन पश्चात चाईना प्रहरीले उनीहरुलाई नेपाली दूताबासमा जिम्मा लगाएको थियो ।
अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई पुस १२ गते सिनामंगलबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । शिवाकोटीले उक्त कन्सल्टेन्सी दर्ता समेत नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गरेको अनुसन्धानबाट देखिन आएको छ ।













प्रतिक्रिया