काठमाडौं, १३ पुस । सशस्त्र प्रहरी बलको शान्ति मिसन टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ सशस्त्र प्रहरी बलको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा कार्यगर्न जाने एसएसपी हरिश्चन्द्र अधिकारीको कमाण्डमा १८० जनाको मिसन टोलीलाई बुधबार सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहका बीच शुभकामनासहित विदाई गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यसअवसरमा मिसनमा खटिई जाने एपीएफ टोलीले आफ्नो सेवा त्यहाँका पिडीत जनताको लागि हो भन्ने मनन् गरेर कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताउंदै शान्ति स्थापनार्थ मिसनमा खटिँदा आफुलाई गौरवान्वित महसुस गर्नुुपर्ने बताए ।
उनले सशस्त्र प्रहरी बलले स्वदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाका लागि युएन मिसनमा सहभागी भई राष्ट्र र संगठनको इज्जत प्रतिष्ठा बढाउन सफल रहेको चर्चा गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले राष्ट्रकै प्रतिनिधित्व गर्दै युएन मिसनमा खटिँदा संगठन र सिंगो मुलुकको प्रतिष्ठालाई ध्यानमा राखेर अझै बढि व्यवसायीक र जिम्मेवार भई उत्कृष्ट कार्य गर्नुपर्ने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघीय मिसनमा एपीएफ टोलीले शान्ति स्थापनार्थ उत्कृष्ट योगदान पुर्याएको चर्चा गर्दै विगतका एपीएफ टोलीले झै प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिश्चन्द्र अधिकारीको कमाण्डमा सो मिसनमा खटिएको उक्त टोलीमा एपीएफ अधिकृत तथा विल्लादार जवान गरी कूल १ सय ८० जना रहेका छन् ।













प्रतिक्रिया