४ मंसिर २०८३, शुक्रबार

अन्ततः एमालेकै प्रस्तावमा आए देउवा, प्रचण्ड पनि सहमत

238.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । संविधान संशोधन प्रस्तावले धुव्रीकरण बढाइरहेका बेला कांग्रेस–माओवादी केन्द्र र एमाले पुनः मिलन विन्दुमा पुगेका छन् ।

संशोधन प्रस्तावले दुई धारमा विभाजित भएका तीन दल बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा पहिला स्थानीय तहको निर्वाचन गर्न सहमत भएका हुन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा निर्वाचनबारे छलफल सुरु भयो । एमालेले पहिला स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सार्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले हुन्छ भने । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पनि सहमत भए ।

संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने समयसीमालाई मध्यनजर गर्दै तीन दल निर्वाचनमा केन्द्रीत भएका छन् । र, सहमतिमा निर्वाचन गर्न तयार भएका हुन् ।

‘स्थानीय तह पुनर्संरचनाको प्रतिवदेन आइसकेकाले पहिला स्थानीय तहको निर्वाचन गरौं भन्ने कुरा एमालेबाट आयो,’ माओवादी नेता श्रेष्ठले भने– ‘कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको सहमति हुन्छ भने पहिला स्थानीय तहकै गरौं । हाम्रो पार्टीलाई मान्य छ भन्नुभयो । माओवादी पनि सहमत छ ।’

सरकारले अबको एक हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने श्रेष्ठको भनाई छ । ‘स्थानीय तहको निर्वाचन गर्न तीन सहमत भएका छन् । सरकारले अब निर्वाचन घोषणा गर्छ,’ उनले भने ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन गर्ने विषयमा सबै दल सहमत भएको बताए । ‘हामीले स्थानीय तहको निर्वाचन गरेर जाऔं भन्यौं,’ रावलले भने– ‘उहाँहरुले ठिक छ भन्नुभयो । चुनाव गर्ने विषयमा सबै दल एकमत छन् । संशोधनमा भने हाम्रो अडान यथावत छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो ।